पोखरामा आइतबार बिहान भएको यति एयरको जहाज दुर्घटनामा परी ज्यान गुमाएका ६८ जनाको शव अस्पतालमा पुर्‍याइएको छ।

सोमबार बिहानसम्म ६८ जनाको शव अस्पतालमा पुर्‍याएको प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए।भेटिएका शवको पहिचान गरी गण्डकी अस्पतालमा पुर्‍याइएको हो।

अस्‍पतालमै शवको सनाखत गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी ज्ञानबहादुर खड्काले बताए।

उनका अनुसार अहिलेसम्म ३८ जनाको सनाखत भएको छ। अन्यको पनि सनाखत गर्ने काम भइरहेको छ। परिवारलाई अस्पतालमा बोलाएर सनाखतको काम भइरहेको हो।

करिब २ सय जना नेपाली सेना, एक सय बढी सशस्त्र प्रहरी र प्रहरी घटनास्थलमा खटिएका छन्।

क्रेन, डोरी लगायतको प्रयोग गरी बेपत्ता रहेका चार जनाको खोजी गरिरहेको छ।

यसअघि ६९ जनाकै शव फेला परेको बताइएको थियो। यति एयरलाइन्सले पनि ६९ जनाको शव फेला परेको भन्दै विज्ञप्ति जारी गरेको थियो।

सोमबार बुझ्दा प्रमुख जिल्ला अधिकारी केसीले दुई जनाको शव आज निकालिएको र कुल ६८ जनाको शव फेला परेको बताएका हुन्।

‘यस्तो भयो, हिजो ६६ जनाको शव मात्रै फेला परेको रहेछ। दुईटा दोहोरो भएको रहेछ। दुई जनाको अहिले बिहान निकालियो,’ उनले भने।

अन्य चार जनाको अवस्था अज्ञात रहेकाले उनीहरूको पनि खोजी भइरहेको उनले बताए।

आइतबार बिहान १०:३२ मा काठमाडौंबाट उडेको यति एयरको जहाज पोखरामा १०:५०मा दुर्घटना भएको हो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलभन्दा अन्दाजी दुई किलोमिटर पर पोखरा महानगरपालिका-१५ स्थित सेती नदीको खोंचमा दुर्घटना भएको हो। उक्त जहाजमा चार चालक दलसहित ७२ जना सवार थिए।

अप्ठेरो ठाउँमा दुर्घटना भएकाले पनि उद्धार गर्न कठिन भएको प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले बताए।

‘खोजी गर्न पनि गाह्रो छ। एकदमै अप्ठेरो ठाउँमा दुर्घटना भएको छ,’ उनले भने,‘उद्धार टोली विभिन्न ढंगले लागिरहेका छन्। आज नै खोजी गर्ने काम सकिने गरी गरिरहेका छौं।’

यस्तै मृतकको शव पनि सकेसम्म आज नै बुझाउने गरी तयारी भइरहेको उनले बताए। तर सम्भावना न्यून रहेको उनको भनाइ छ।

पोष्टमर्टम, बीमा लगायतका कागजी कामहरू गर्नुपर्ने भएकाले एकिनसँग भन्न नसकिने उनले बताए।

यस्तै पोखरामै बुझ्न चाहनेहरूको शव त्यही अस्पतालमा पोष्टमर्टम गरी बुझाइने जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी अजय केसीले जानकारी दिए।

विदेशी नागरिक, पहिचान हुन बाँकी, काठमाडौंमै बुझ्न चाहने र चालक दलको शव भने काठमाडौं पठाइने उनले बताए।

दुर्घटनामा १५ जना विदेशी नागरिक र चार जना चालक दलको शव काठमाडौं ल्याइने भएको हो। पहिचान खुलाउने र काठमाडौंमै लिन चाहनेको संख्या पनि खुल्न बाँकी छ।

उद्धार टोलीले जहाजको ‘ब्ल्याक बक्स’ पनि सरकारले गठन गरेको जाँच आयोगलाई बुझाइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

यी हुन् सनाखत भएकाहरू

१- निशान्त आचार्य
२- संगीता शाही-
३- डाक्टर सुशिल श्रेष्ठ
४- डाक्टर सोना दिवाकर
५- रियान पौडेल
६- सदागत अलि मिया
७- लक्ष्मी पौडेल
८- प्रशिद्धि पौडेल
९- अरूण पौडेल
१०- पूर्णकुमार गुरूङ
११- युकोन्जो (कोरियन नागरिक)
१२- विजयकुमार गुरूङ
१३- रचना काफ्ले पौडेल
१४- रकि गुरूङ
१५- डा.गणेश थापा
१६- लक्ष्मी परियार
१७- रिता परियार
१८- हरि परियार
१९- एस्मिल गुरूङ
२०- पूजन थापा
२१- सिर्जना होङचेन (एयरहोस्टेज)
२२- त्रिभुवन पौडेल
२३- मोहन प्रकाश श्रेष्ठ
२४- जुरिस लेजिन (रसियन नागरिक)
२५- एलिना (रसियन नागरिक)
२६- जीवनकला गुरूङ
२७- जमुना शर्मा
२८- शालिकराम आचार्य
२९- डा शुसिल र सोनाको छोरा
३०- बन्दना सुनार
३१- सीता गुरूङ
३२- निरा छन्त्याल
३३- अनुषा गुरूङ
३४- शिवकुमार गुरूङ
३५- राजु सिंह ठकुरी
३६- अनिल शाही
३७- पास्कल एलेक्स मण्डल (फ्रान्स)
३८- कमल केसी (क्याप्टेन)

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर