विशेष अदालत काठमाडौंले ७८ लाख घूस लिएका अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकलाई भ्रष्टाचारी ठहर गरेको छ।
विशेष अदालतले बिहीबार एक फैसला सुनाउँदै पाठकलाई तीन वर्ष तीन महिना कैद सजाय सुनाएको हो।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा न्यायाधीशहरू यमुना भट्टराई र बलभद्र बाँस्तोलाको इजलासले दोषी ठहर गर्दै पाठकलाई ३९ लाख जरिवानाको फैसला पनि गरेको हो। 
पाठकमाथि अख्तियारको सदस्य रहँदा भक्तपुरको दुवाकोटस्थित नेपाल इन्जिनियरिङ कलेजको जग्गा विवाद मिलाउन ७८ लाख रुपैयाँ घुस लिएको आरोप तीन वर्ष १० महिनाअघि लागेको थियो।
अख्तियार आयुक्त पाठकले ७८ लाख घूस लिएको खुलासा पहिलो पटक नेपालखबरले १ फागुन २०७५ मा गरेको थियो। त्यसपछि नेपालखबरमा पाठकले घूस ‘डिल’ गरेका भिडिओ र अडियो श्रृंखला नै प्रकाशित भएको थियो।
पाठकको घूस प्रकरणको खुलासापछि उनलाई निलम्बन गरेर अख्तियारले छानबिन अघि बढाएको थियो। अख्तियारको उनी पदमा रहँदै मुद्दा अघि बढाएको थियो। भ्रष्टाचार निवारणको जिम्मेवारी पाएको अख्तियामा रहँदा नै मुद्दा चलाइएकाले उनलाई थप तीन महिना कैद सजाय भएको हो।
पाठकलाई घुस दिने काममा संलग्न कलेजका पूर्व अध्यक्ष लम्बोदर न्यौपानेलाई पनि विशेष अदालतले ३ वर्ष जेल सजाय र ३९ लाख जरिवाना तोकेको छ।






