काठमाडौं, २२ पुस । उप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सुरक्षार्थ खटिने अगुवा-पछुवा गाडी हटाएका छन् ।
मन्त्री लामिछानेले शुक्रबार सामाजिक सञ्जालमा लेख्दै अगुवा पछुवा गाडी हटाएको बताएका हुन् । आफैँ सुरक्षा प्रदान गर्ने निकायमा रहेको भन्दै लामिछानेले आफू मात्रै सुरक्षा घेरभित्र हिँडेर जनताका अपेक्षा पूरा नहुने बताएका छन् ।

मन्त्री लामिछानेले आफ्नो अगाडि एउटा मात्रै गाडी रहने जानकारी दिएका छन् । ‘उपप्रधानमन्त्री एंव गृहमन्त्रीको नियुक्ति लगत्तै मैले मेरो सुरक्षामा खटिने प्रहरी निरीक्षकको नेतृत्वलाई घटाएर प्रहरी नायब निरीक्षक (सई) को नेतृत्व सुरक्षाकर्मी राखेको छु । सवारीका क्रममा रहने अगुवा-पछुवा सुरक्षाकर्मी सहितको गाडी हटाएर मैले आजैबाट अगाडी एउटामात्र गाडी सुरक्षामा राख्ने निर्णय गरेको छु । भै परि आउँदाको परिस्थितिलाई अपवाद मानिदिनु होला’ लामिछानेले लेखेका छन् ।
यस्तै, मन्त्री लामिछानेले आफूले सधैँ ट्राफिक नियमको पालना गर्ने पनि प्रतिवद्वता जनाएका छन् ।
साइरन बजाएर नागरिकलाई उछिन्दै हिँड्ने प्रवृतिको आफू सधैं आलोचक भएको भन्दै गृहमन्त्री लामिछानेले आकस्मिक अवस्थामा बाहेक आफूबाट यस्तो गतिविधि नहुने बताएका छन्।






