एसपी यादव/सर्लाही, चैत २ गते । सर्लाहीको कबिलासी नगरपालिकामा एक जनालाई नाङ्गै बनाएर कुटपिट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी सरोज राईका अनुसार, मिति २०८२ फागुन २३ गते दिउँसो करिब ४ बजे कबिलासी नगरपालिका-१० स्थित चमेलीमाई मन्दिरको पछाडि रहेको फन पार्क क्षेत्रमा चकरघटा गाउँपालिका ९ का राज कुमार यादवका १९ वर्षीय छोरा प्रनित कुमार यादवलाई नाङ्गै बनाएर कुटपिट गरी घाइते बनाएको घटनामा संलग्न भएको आरोपमा रोहित कुमार यादवलाई पक्राउ गरिएको उनले बताएका छन् ।

कबिलासी नगरपालिका-१० का स्थानीय राजेन कुमार यादवले मिति २०८२ फागुन २९ गते रोहित कुमार यादव समेतका व्यक्तिविरुद्ध ज्यान मार्ने उद्योग, अपमानजनक तथा अमानवीय व्यवहार र कुटपिट अंगभंगसम्बन्धी कसुरमा जाहेरी दिएका थिए । जाहेरीका आधारमा प्रहरीले सोही दिन रोहित कुमार यादवलाई पक्राउ गरेको थियो । पक्राउ परेका यादवलाई मिति २०८२ फागुन २९ गतेदेखि लागू हुने गरी सर्लाही जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको र घटनामा संलग्न अन्य प्रतिवादीहरूको खोजी कार्य समेत जारी रहेको सर्लाही प्रहरीले जनाएको छ ।
निर्घात कुटपिटबाट चक्रघट्टा गाउँपालिका-९ बस्ने राजकुमार यादवका छोरा वर्ष १९ का प्रमित कुमार यादव घाइते भएका छन् ।






