उदयपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उदयपुर क्षेत्र नं. १ मा चुनावी सरगर्मी बढेको छ। नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका पूर्व सभापति विदुर बस्नेत यतिबेला ६ बुँदे प्रतिबद्धतापत्रसहित मतदाताको घरदैलोमा व्यस्त छन्। त्रियुगा, चौदण्डीगढी र बेलका नगरपालिका समेटिएको यस क्षेत्रमा बस्नेतले कृषि, सिँचाइ, भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य र भूमि समस्या समाधानलाई आफ्नो मुख्य प्राथमिकतामा राखेका छन्।
यसअघि सोही क्षेत्रबाट पटक-पटक निर्वाचित डा. नारायण खड्काले सगरमाथा विमानस्थल निर्माण, सडक र पुलजस्ता ठूला आश्वासन दिए पनि ती पूरा हुन नसकेको भन्दै स्थानीय स्तरमा असन्तुष्टि देखिएको छ। सोही जनगुनासो र ‘जेनजी’ आन्दोलनको प्रभावका कारण डा. खड्काले यसपटक उम्मेदवारी नदिने घोषणा गरेपछि कांग्रेसले स्थानीय राजनीतिमा भिजेका बस्नेतलाई अघि सारेको हो। बस्नेतले आफू विजयी भएमा विगतका अधुरा काम पूरा गर्ने र सधैँ जनताको साथमा रहने वाचा गरिरहेका छन्।

यद्यपि, बस्नेतका एजेन्डाहरू विगतमा डा. खड्काले अघि सारेका योजनाहरूसँगै मिल्दाजुल्दा रहेकाले मतदाताहरूमा खासै नयाँ उत्साह देखिएको छैन। विशेषगरी बेलका र चौदण्डीगढी क्षेत्रका मतदाताबीच कांग्रेसको आन्तरिक कलह र पुराना आश्वासन पूरा नभएको विषयमा व्यापक चर्चा हुने गरेको छ। ऐतिहासिक दल भएर पनि जनताका आधारभूत समस्याभन्दा स्वार्थगत राजनीतिमा केन्द्रित भएको आरोप लागिरहँदा, यसपटक पुराना कांग्रेसी मतदाताले समेत विकल्प खोज्न सक्ने र मत परिवर्तन हुन सक्ने सम्भावना बलियो बन्दै गएको देखिन्छ।






