कलैया – बारामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सांगठनिक संरचनामा ठूलो हेरफेर देखिएको छ। पार्टीका जिल्ला सह-सचिव एवं संगठन विभाग प्रमुख पवन चौधरीले रास्वपा परित्याग गरी राष्ट्रिय एकता दलमा प्रवेश गरेसँगै जिल्लाको राजनीतिक वृत्तमा नयाँ तरंग पैदा भएको छ।

बारामा रास्वपालाई स्थापित गर्न र संगठन विस्तारमा सुरुवाती दिनदेखि नै सक्रिय भूमिका खेल्दै आउनुभएका चौधरीको बर्हिगमनलाई रास्वपाका लागि एक गम्भीर सांगठनिक क्षतिका रूपमा विश्लेषण गरिएको छ। गत प्रतिनिधि सभा निर्वाचनमा बारा निर्वाचन क्षेत्र नम्बर ४ बाट उम्मेदवार बन्नुभएका चौधरीले ७ हजार मत प्राप्त गर्दै आफूलाई एक प्रभावशाली युवा नेताका रूपमा उभ्याउनुभएको थियो।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै चौधरीले रास्वपाको पछिल्लो समयको कार्यशैली र नेतृत्वको हिँड्ने बाटोप्रति असन्तुष्टि व्यक्त गर्नुभयो। उहाँले देशको वास्तविक एकता, दिगो विकास र भुइँतहका नागरिकको मुद्दालाई सम्बोधन गर्न नयाँ राजनीतिक यात्रा सुरु गरेको प्रष्ट पार्नुभयो।

चौधरीसँगै रास्वपामा आबद्ध रहेका केही स्थानीय नेता तथा कार्यकर्ताहरूले पनि राष्ट्रिय एकता दलको सदस्यता लिएका छन्। युवाहरूमाझ राम्रो पकड भएका र चुनावी नतिजामार्फत आफ्नो लोकप्रियता प्रमाणित गरिसकेका चौधरीको प्रवेशले बारामा राष्ट्रिय एकता दलको उपस्थिति बलियो बनाउने देखिएको छ। अर्कातर्फ, जिल्लाका मुख्य पदाधिकारी नै बाहिरिएपछि रास्वपालाई बारामा आफ्नो संगठन पुनः व्यवस्थित गर्न चुनौती थपिएको छ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर