काठमाडौँ – अर्थमन्त्री रामेश्वर खनालले आगामी निर्वाचन सम्पन्न गर्न आवश्यक पर्ने स्रोत तथा साधनको कुनै पनि अभाव हुन नदिने प्रतिबद्धता जनाउनुभएको छ। नेपाल पर्यटन बोर्ड र परिसूचक मिडियाको संयुक्त आयोजनामा आज काठमाडौँमा सम्पन्न ‘नेपाल पर्यटन गोष्ठी’लाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो।

मन्त्री खनालले सरकारको अहिलेको मुख्य ध्यान निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउनेतर्फ नै केन्द्रित रहेको स्पष्ट पार्नुभयो। उहाँले मुलुक अब राजनीतिक अस्थिरताको बहसबाट बाहिर निस्कनुपर्ने उल्लेख गर्दै सरकारलाई यस्ता राजनीतिक झमेलाबाट मुक्त राखेर आर्थिक विकासमा केन्द्रित गर्नु नै वर्तमान समयको सबैभन्दा ठुलो चुनौती रहेको औँल्याउनुभयो।

पर्यटन क्षेत्रका बारेमा चर्चा गर्दै अर्थमन्त्रीले पर्यटनलाई उद्योगसरहको सुविधा उपलब्ध गराउने अघिल्लो सरकारको प्रतिबद्धता पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको स्वीकार गर्नुभयो। उहाँले उक्त प्रतिबद्धतालाई सार्थक रूप दिन सरकारले आवश्यक गृहकार्य गरिरहेको समेत जानकारी दिनुभयो।

देशको समग्र अर्थतन्त्रको सुधार र उन्नयनका लागि सरकारले हरसम्भव प्रयास गरिरहेको बताउँदै उहाँले यसका लागि विभिन्न नीतिगत सुधारका कार्यहरू अगाडि बढाइएको दाबी गर्नुभयो। आर्थिक समृद्धिका लागि पर्यटन क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने भन्दै उहाँले निजी क्षेत्रसँगको सहकार्यमा जोड दिनुभयो।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर