सप्तरी,२३ माघ । सप्तरीको विष्णुपुर गाउँपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेस जनविद्रोहकै कारण देशमा ठुलो राजनीतिक परिवर्तन सम्भव भएको बताउनुभएको छ। उहाँले विगतको बलिदानीपूर्ण सङ्घर्षले गर्दा नै राज्यका हरेक तह र तप्कामा मधेसी, दलित, महिला, थारु र मुस्लिम लगायतका समुदायको अधिकार र सम्मान सुनिश्चित भएको उल्लेख गर्नुभयो।

सप्तरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहनुभएका यादवले शुक्रबार इटहरीमा आयोजित कार्यक्रममा बोल्दै अधिकार र अवसर दिलाउन जसपाले नेतृत्वदायी भूमिका खेलेको दाबी गर्नुभयो। उहाँले भन्नुभयो, “विगतमा सरकारी कार्यालय र सुरक्षा अङ्गहरूमा मधेसी अनुहारहरू नगण्य थिए, तर आज समावेशिताका कारण सबै क्षेत्रमा हाम्रो प्रतिनिधित्व देखिन थालेको छ। यो सबै मधेस आन्दोलनकै देन हो।”

अध्यक्ष यादवले अबको मुख्य कार्यभार अधिकारसँगै विकासलाई जोड्नु रहेको बताउनुभयो। मधेसमा व्याप्त गरिबी र अशिक्षा हटाउन जनसङ्ख्याको आधारमा बजेट विनियोजन र निर्वाचन क्षेत्रको पुनरावलोकन हुनुपर्नेमा उहाँले जोड दिनुभयो। वर्तमान संघीय संरचनामा प्रदेशहरू अधिकारको हिसाबले कमजोर रहेको टिप्पणी गर्दै उहाँले अब प्रदेशहरूलाई वास्तविक रूपमा अधिकारसम्पन्न बनाउने अभियानमा आफ्नो पार्टी लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा पूर्वमन्त्री रेणु कुमारी यादव, केन्द्रीय सचिव शैलेन्द्र प्रसाद साह, राजविराजका मेयर भीमराज यादव, विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद यादव लगायतका नेताहरूले पनि सम्बोधन गर्नुभएको थियो। सोही क्रममा उम्मेदवारहरू र विभिन्न भातृ संगठनका प्रतिनिधिहरूले पार्टीको योजनाबारे मन्तव्य राखेका थिए। अध्यक्ष यादवले शुक्रबारै सोही क्षेत्रका गोरगामा र सिम्राहा लगायतका गाउँहरूमा पुगेर स्थानीय बासिन्दाहरूसँग भेटघाट र चुनावी छलफल गर्नुभएको छ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर