काठमाडौँ । एनआईसी एसिया बैंक लिमिटेडले आफ्नो नाममा रहेका बैंकिङ्ग, गैर बैंकिङ्ग तथा धितो सुरक्षणमा रहेका सम्पत्तिहरूको लिलाम बिक्री सम्बन्धी जानकारी दिन अत्याधुनिक अनलाइन पोर्टल सार्वजनिक गरेको छ। बैंकले लिलाम बिक्री प्रक्रियालाई थप पारदर्शी र ग्राहकका लागि सहज बनाउने उद्देश्यले यो डिजिटल प्लेटफर्म सञ्चालनमा ल्याएको हो। अब इच्छुक खरिदकर्ताहरूले बैंकले प्रकाशन गर्ने सूचनामा रहेको क्युआर कोड स्क्यान गरेर वा सिधै बैंकको पोर्टलमार्फत सम्पत्तिको विस्तृत विवरण हेर्न सक्नेछन्।

बैंकले सार्वजनिक गरेको https://auctionassistance.nicasiabank.com पोर्टल भित्र लिलाममा रहेका सम्पत्तिहरूको कित्ता नम्बर, क्षेत्रफल, फोटो र नक्सा जस्ता महत्वपूर्ण जानकारीहरू समावेश गरिएका छन्। विशेष गरी खरिद गर्न चाहनेहरूका लागि सम्पत्तिको वास्तविक स्थान पहिचान गर्न सहज होस् भन्ने हेतुले पोर्टलमा गुगल म्याप समेत एकीकृत गरिएको छ। यसले गर्दा ग्राहकले घरमै बसेर आफूले किन्न चाहेको सम्पत्तिको वस्तुस्थिति र अवस्थितिबारे प्रष्ट जानकारी पाउन सक्नेछन्।

सम्पत्तिका बारेमा थप जिज्ञासा भएमा ग्राहकले सोही पोर्टलमा उपलब्ध म्यासेज बक्समार्फत आफ्नो विवरण भरेर बैंकलाई प्रत्यक्ष सम्पर्क गर्न सक्ने व्यवस्था समेत मिलाइएको छ। बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत एवं प्रमुख सूचना अधिकारी जयन्द्र रावलका अनुसार यस पोर्टलमा नियमित रूपमा लिलाम हुने नयाँ सम्पत्ति र सम्बन्धित सूचनाहरू अपडेट गरिनेछ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर