एसपी यादव/सर्लाही, पुस १९ गते । नेपाली कांग्रेस सर्लाहीमा उम्मेदवार सिफारिस प्रक्रिया परिवारकेन्द्रित बनेको तथ्य सार्वजनिक भएको छ । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि सर्लाही क्षेत्र नं. ४ बाट एउटै परिवारका तीन जनाको नाम प्रतिनिधिसभा सदस्यमा प्रत्यक्ष र समानुपातिकतर्फ उम्मेदवारका रूपमा सिफारिस गरिएको छ ।

सिफारिस अनुसार, हाल मधेस प्रदेशसभा सदस्य रहेका वीरेन्द्र प्रसाद सिंहको नाम प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ सिफारिस गरिएको छ । त्यस्तै उनका भतिजा सुधिर कुमार सिंहको नाम पनि प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ नै सिफारिस गरिएको छ । भने सुधिरकी आमा तथा वीरन्द्र प्रसाद सिंहकी सहोदर भाउजु बेबी सिन्हाको नाम समानुपातिकतर्फ सिफारिस गरिएको छ ।

उक्त सिफारिस पार्टीको स्पष्ट मापदण्ड र केन्द्रीय निर्देशन विपरीत भएको भन्दै कांग्रेसभित्रै व्यापक असन्तुष्टि बढेको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले मंसिर १८ गते जारी गरेको परिपत्रमा प्रदेशसभामा बहाल रहेका नेताहरूलाई प्रतिनिधिसभामा उम्मेदवार नबनाउन निर्देशन दिएका थिए । तर उक्त निर्देशन बेवास्ता गर्दै वीरेन्द्र प्रसाद सिंहको नाम सिफारिस गरिएको कांग्रेसका नेताहरूले बताउँछन् । त्यस्तै प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरिएका सुधिर कुमार सिंहको उम्मेदवारीका लागि कानुन बमोजिम उमेर नपुगेको दाबी पनि उठेको छ । यसले सिफारिस प्रक्रिया थप विवादास्पद बनेको छ ।

गत मंसिर २३ गते मंगलबार बसेको क्षेत्र नं. ४ को बैठकले यी नामहरू केन्द्रमा सिफारिस गरेपछि पार्टीभित्र तीव्र विवाद उत्पन्न भएको थियो । सम्भावित विरोधलाई मध्यनजर गर्दै सिफारिसको सम्पूर्ण सूची गोप्य राखिएको कांग्रेसका नेताहरूको भनाइ छ । पछि पार्टीले निर्वाचन आयोगमा समानुपातिकतर्फ बन्दसूची बुझाएपछि मात्रै सिफारिस सूची बाहिर आएको हो । यद्यपि केन्द्रले निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा सर्लाहीबाट बेबी सिन्हाको नाम समावेश नभएको खुलेको छ ।

यस निर्णयप्रति आपत्ति जनाउँदै कांग्रेस महासमिति सदस्य डा. राजेश्वर सिंह कुशवाहाले केन्द्रीय समितिमा निवेदन दर्ता गराएका छन् । उनले आफूले पनि प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ उम्मेदवारीको दाबी पेश गरेको भए पनि केन्द्रीय निर्णयको उल्लङ्घन गर्दै ‘नाटकीय शैलीमा’ नाम सिफारिस गरिएको आरोप लगाएका छन् । डा. कुशवाहाले, उक्त बैठकको निर्णय बदर गरी आफ्नो उम्मेदवारी प्रस्तावलाई मान्यता दिन माग गरेका छन् । सर्लाही कांग्रेसमा देखिएको यो घटनाले उम्मेदवार छनौट प्रक्रियाको पारदर्शिता, मापदण्डको पालना र पार्टीभित्रको आन्तरिक लोकतन्त्रबारे गम्भीर प्रश्न उठाएको छ ।

एसपी यादव

लेखकको बारेमा

एसपी यादव

लेखकबाट थप

पत्रकार यादव राजनीतिक, खोज अनुसन्धान र समसामयिक लगायत विषयमा रिपोर्टिङ गर्छन् ।


प्रतिक्रिया!!

सम्बन्धित खबर