जनकपुरधाम, १४ पुस। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुक गहिरो आर्थिक, सामाजिक र नैतिक संकटमा फसेको भन्दै संविधान संशोधनबिनाको निकास सम्भव नरहेको बताएका छन्।

जनकपुरधाममा आयोजित विशाल जनप्रदर्शन तथा विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले विगत तीन दशकभन्दा बढी समयदेखि सत्तामा रहेका कांग्रेस र कम्युनिस्ट दलहरूको गलत नीति, उदारीकरण र निजीकरणले देशको अर्थतन्त्र ध्वस्त बनाएको आरोप लगाए। उनका अनुसार करिब १३५ वटा उद्योग–कलकारखाना बन्द हुँदा रोजगारी घटेको छ, सरकारी विद्यालय कमजोर बनेका छन् र कृषि क्षेत्र तहसनहस भएको छ।

अध्यक्ष यादवले शिक्षा, स्वास्थ्य र कृषि जस्ता आधारभूत क्षेत्र सम्हाल्न सरकार असफल भएको टिप्पणी गर्दै भ्रष्टाचार चरम सीमामा पुगेको दाबी गरे। संविधान संशोधन, सुशासन र शिक्षा सुधारका मुद्दा जसपा नेपालले निरन्तर उठाउँदै आए पनि सत्तारुढ दलहरूले दुईतिहाइको दम्भमा ती मागलाई बेवास्ता गरेको उनको भनाइ थियो।

उनले पछिल्लो समय देखिएको ‘जेनजी’ युवाहरूको आक्रोश निराशाको परिणाम भएको उल्लेख गर्दै राज्यले समस्या समाधान गर्नुभन्दा पनि युवाहरूलाई झुक्याउने प्रयास गरिरहेको आरोप लगाए। मधेश केवल आठ जिल्लामा सीमित नभई २२ जिल्लासम्म फैलिएको भूगोल भएको भन्दै प्रदेशहरूको पुनर्संरचना अपरिहार्य रहेको उनले बताए।

अध्यक्ष यादवले संसदीय व्यवस्था असफल भइसकेको दाबी गर्दै प्रत्यक्ष कार्यकारी प्रमुखको निर्वाचन र पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्न संविधान संशोधन आवश्यक रहेको स्पष्ट पारे। संविधान पुनर्लेखन नभएसम्म जसपा नेपाल संघर्षमै रहने चेतावनी पनि उनले दिए।

एसपी यादव

लेखकको बारेमा

एसपी यादव

लेखकबाट थप

पत्रकार यादव राजनीतिक, खोज अनुसन्धान र समसामयिक लगायत विषयमा रिपोर्टिङ गर्छन् ।


प्रतिक्रिया!!

सम्बन्धित खबर