काठमाडौँ। आइतबार उल्लेख्य अंकले बढेको सेयर बजार सोमबार भने ‘करेक्सन’ को चरणमा प्रवेश गरेको छ। कारोबारको पहिलो दिनमै बजार १०.५३ अंकले घट्दै २६२२.८८ बिन्दुमा सीमित भएको छ। समग्र बजार सूचक नेप्से सोमबार ०.८८ प्रतिशतले ओरालो लागेको हो।

आजको कारोबारमा विकास बैंक र म्युचुअल फन्डबाहेक सबै उपसूचक घटेका छन्। सबैभन्दा बढी असर ‘अन्य’ समूहमा देखिएको छ, जहाँ लगानीकर्ताले औसत ०.८२ प्रतिशत मूल्य गुमाएका छन्।

कारोबारको विवरणअनुसार सोमबार ३ सय ३७ कम्पनीका धितोपत्रमा ६९ हजार ५ सय ४८ पटक कारोबार हुँदा १ करोड ३७ हजार ३ सय ७ कित्ता सेयर किनबेच भएको छ। कुल कारोबार रकम ४ अर्ब ७७ करोड ४७ लाख ८६ हजार रुपैयाँमा सीमित रह्यो। अघिल्लो दिन बजार ४७ अंकले उक्लिँदा कारोबार रकम ५ अर्ब ५३ करोड रुपैयाँ नाघेको थियो।

आजको कारोबारमा एसवाई प्यानल नेपाल लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै बढेको छ। यस कम्पनीको सेयर १० प्रतिशतले उक्लिँदै प्रतिकित्ता ८ सय ८० रुपैयाँमा कारोबार भएको छ। सो कम्पनी आज पनि सबैभन्दा धेरै कारोबार हुने धितोपत्रमा परेको छ।

यसका अतिरिक्त ग्लोबल आइएमई समुन्नत योजना–२, कर्पोरेट विकास बैंक, सप्तकोशी विकास बैंक र ग्रिन डेभलपमेन्ट बैंकका सेयर मूल्यमा समेत उल्लेख्य वृद्धि देखिएको छ।

उता, विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सोमबार सबैभन्दा बढी क्षति बेहोरेका छन्। उक्त कम्पनीको सेयर मूल्य १० प्रतिशतले घट्दै प्रतिकित्ता १ हजार ४९६ रुपैयाँ १० पैसामा झरेको छ।

त्यस्तै सुपर मादी हाइड्रोपावर, मानुषी लघुवित्त वित्तीय संस्था, सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र एनआईसी एसिया बैंकलगायतका धितोपत्रको मूल्यमा पनि उल्लेख्य गिरावट आएको छ।

विश्लेषकहरूका अनुसार अघिल्लो दिनको तीव्र वृद्धिपछि आएको यो गिरावटलाई स्वाभाविक सुधारका रूपमा लिइएको छ। बजारको आगामी दिशा भने लगानीकर्ताको मनोविज्ञान र मौद्रिक तथा नीतिगत संकेतमा निर्भर रहने उनीहरूको भनाइ छ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर