सर्लाही,१३ पुस । मलङ्गवा नगरपालिका–७ का वडाध्यक्ष मो. इशा मिकरानी नागरिकता सम्बन्धी कसूर मुद्दामा पक्राउ परेका छन्। झुठो विवरणको आधारमा गैरकानुनी रूपमा नागरिकता जारी गराउन संलग्न रहेको आरोपमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मिकरानीले रामविश्वास रायलाई नागरिकता दिलाउन सहयोग गरेको आशंकामा अनुसन्धान अघि बढाइएको छ। उनलाई आज दिउँसो पक्राउ गरी सर्लाही जिल्ला अदालतमा उपस्थित गराइएकोमा अदालतले दुई दिनको म्याद थप गरी अनुसन्धान गर्न अनुमति दिएको छ।

झुठो विवरण प्रयोग गरी नागरिकता जारी भएको घटनामा वडाध्यक्षको संलग्नता देखिएपछि जिल्ला सरकारी वकिल कार्यालयले थप अनुसन्धान आवश्यक रहेको भन्दै गत वैशाख २२ गते नै पत्राचार गरेको थियो। त्यसकै आधारमा सर्लाही जिल्ला अदालत, मलङ्गवाले मङ्सिर ५ गते वडाध्यक्ष मिकरानीलाई पक्राउ गर्न अनुमति दिएको थियो।
अदालतको आदेशपछि प्रहरीले आज उनलाई पक्राउ गरी आवश्यक अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।






