राजविराज, २८ मंसिर । राजविराजमा आन्तरिक राजस्व कार्यालय स्थापना गर्नुपर्ने मागसहित गठित संघर्ष समितिले सुरु गरेको रिले अनशन आइतवार तेस्रो दिन पनि निरन्तर जारी रहेको छ ।

गजेन्द्रचोकमा सञ्चालन भइरहेको अनशन कार्यक्रममा स्थानीय व्यापारी, युवा तथा विद्यार्थी, जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका नेता र संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता देखिएको छ । सहभागीहरूले राजविराजमा आन्तरिक राजस्व कार्यालय आवश्यक रहेको भन्दै सरकारको निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

संघर्ष समितिका संयोजक मोहन यादवले सरकारको हालको नीतिअनुसार करदाता सेवा कार्यालय खारेज गर्ने निर्णय स्वीकार्य नभएको बताए । उनले राजविराजमा आन्तरिक राजस्व कार्यालय स्थापना गर्नुपर्ने मुख्य माग रहेको उल्लेख गर्दै, उक्त निर्णय तत्काल फिर्ता नलिएसम्म आन्दोलन नरोकिने चेतावनी दिए ।

हाल राजविराजस्थित करदाता सेवा कार्यालयमा ७२ हजारभन्दा बढी करदाता दर्ता रहेको जनाइएको छ । गत आर्थिक वर्षमा मात्र यस कार्यालयमार्फत १ अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन भएको थियो । सरकारले देशभर रहेका ३७ वटा करदाता सेवा कार्यालय खारेज गरी आन्तरिक राजस्व कार्यालयमार्फत सेवा प्रवाह गर्ने नीति अघि बढाएपछि राजविराजमा आन्दोलन चर्किएको हो ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर