सप्तरी, २७ मंसिर । करदाता सेवा कार्यालय राजविराजलाई आन्तरिक राजस्व कार्यालयमा गाभ्ने सरकारी निर्णयविरुद्ध सप्तरीमा जारी रिले अनशनमा राष्ट्रिय मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोले शनिबार अनशन स्थलमै पुगेर ऐक्यबद्धता जनाएका छन्।
राजविराजस्थित गजेन्द्र चोकमा सञ्चालन भइरहेको रिले अनशनमा सहभागी जनप्रतिनिधि, व्यापारी–व्यवसायी, विभिन्न संघसंस्था तथा राजनीतिक दलका प्रतिनिधिसँगै बसेर महतोले समर्थन प्रकट गरेका हुन्। उनको साथमा पार्टीका जिल्ला अध्यक्ष दिपेन्द्र चौधरी, नेता गजेन्द्र मण्डललगायतका नेता तथा कार्यकर्ताहरू पनि उपस्थित थिए।

जेनजी पुस्ताको अगुवाइमा सुरु भएको आन्दोलनलाई समर्थन गर्दै विभिन्न नगरपालिका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष–उपाध्यक्ष तथा उद्योगी–व्यवसायीले शुक्रबारदेखि रिले अनशन थालेका हुन्, जुन शनिबार पनि निरन्तर रहेको छ।
आन्तरिक राजस्व कार्यालय स्थापना संघर्ष समिति सप्तरीको आयोजनामा भइरहेको अनशनमा जिल्ला समन्वय समितिका प्रमुखसहित १८ वटै स्थानीय तहका जनप्रतिनिधि, सप्तरी उद्योग वाणिज्य संघका अध्यक्षसहित उद्योगी–व्यवसायी सहभागी रहेको संघर्ष समितिका संयोजक मोहन यादवले जानकारी दिए। “सुन सरकार, सप्तरीबासी सब क आवाज” लेखिएको ब्यानरसहित शुक्रबार बिहान १० बजेदेखि जनप्रतिनिधि र व्यवसायीहरू दिनरात रिले अनशनमा बसेका छन्।
राजविराजस्थित करदाता सेवा कार्यालयलाई आन्तरिक राजस्व कार्यालयमा स्तरवृद्धि गरी स्थापना गर्नुपर्ने मागसहित सुरु गरिएको आन्दोलन संघीयता र सप्तरीबासीको हितसँग जोडिएको विषय भएको विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद यादवले बताए। उनले करदाता सेवा कार्यालय सार्ने सरकारी निर्णय संघीयता विरोधी भएको भन्दै संघीय सरकारलाई निर्णय सच्याउन आग्रह गरे।
अनशनमा सहभागी जनप्रतिनिधि तथा व्यापारीहरूले कार्यालय गाभ्ने वा खारेज गर्ने कुनै पनि प्रयास स्वीकार्य नहुने स्पष्ट पार्दै शान्तिपूर्ण आन्दोलनबाट सुनुवाइ नभए थप सशक्त आन्दोलनमा जाने चेतावनी दिएका छन्।
संघर्ष समितिले घोषित सात दिने रिले अनशनमा सहभागी भई समर्थन तथा सद्भाव प्रकट गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्दै आन्दोलनलाई अझ प्रभावकारी बनाउन नागरिक समाज, पत्रकार, जनप्रतिनिधि, राजनीतिक दल, संघसंस्था, सरकारी कर्मचारी तथा सम्पूर्ण सप्तरीबासीलाई एकताबद्ध हुन आह्वान गरेको छ।
माओवादी जनयुद्धकालमा राजविराजमै आफ्नै भवनमा रहेको आन्तरिक राजस्व कार्यालय लहान सारिएपछि २०७५ सालमा करदाता सेवा कार्यालय पुनःस्थापना गरिएको थियो। हाल उक्त कार्यालयमा ७२ हजारभन्दा बढी करदाता आबद्ध छन्। आर्थिक वर्ष २०८१/०८२ मा यस कार्यालयबाट १ अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन भएको छ भने आर्थिक वर्ष २०८२/०८३ का लागि १ अर्ब २५ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरिएको छ। सरकारले तोकेको लक्ष्यभन्दा बढी राजस्व संकलन हुँदै आएको जनाइएको छ।
कार्यालयमा ९ जनाको दरबन्दी रहेको छ, जसमा कार्यालय प्रमुख (अफिसर) १, सुब्बा १, कम्प्युटर अपरेटर २ र ६ जना करारका कर्मचारी कार्यरत छन्। नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार देशभरका ३७ करदाता सेवा कार्यालय खारेज गरी आन्तरिक राजस्व कार्यालयमार्फत सेवा प्रवाह गर्ने नीति अघि बढेपछि राजविराजमा आन्तरिक राजस्व कार्यालय स्थापना गर्नुपर्ने मागसहित सप्तरीका उद्योगी–व्यवसायी, नागरिक समाज, जनप्रतिनिधि, पत्रकार तथा विभिन्न राजनीतिक दल चरणबद्ध आन्दोलनमा उत्रिएका हुन्।






