राजविराजमा आन्तरिक राजस्व कार्यालय स्थापना माग्दै सुनचाँदी व्यवसायी संघसहित विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूले दोस्रो दिन पनि रिले अनसन जारी राख्दै।

सप्तरी,२७ मंसिर । राजविराजस्थित करदाता सेवा कार्यालयलाई आन्तरिक राजस्व कार्यालयमा गाभ्ने सरकारी निर्णयको विरोधमा सुरु गरिएको रिले अनसन शनिबार पनि निरन्तर रह्यो। आन्तरिक राजस्व कार्यालय स्थापना संघर्ष समिति सप्तरीको आह्वानमा सुरु भएको अनसनमा दोस्रो दिन सुनचाँदी व्यवसायी संघले सहभागिता जनाएको हो।

व्यवसायीहरूले राजविराजमै आन्तरिक राजस्व कार्यालय नहुँदा कर सम्बन्धी कामका लागि टाढा धाउनुपर्ने, समय र खर्च दुवै बढेको गुनासो गरेका छन्। उनीहरूले करदाताको हितलाई ध्यानमा राखी सम्बन्धित निकाय गम्भीर बन्नुपर्ने मागसमेत राखेका छन्।

यसअघि अनसनको पहिलो दिन जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिवनारायण साह, उपप्रमुख शम्भु यादव, राजविराज नगरपालिकाकी कार्यवाहक मेयर इसरत परविन, डाक्नेश्वरी नगरपालिकाका मेयर रामलखन मुखिया, रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादव, विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश कुमार यादव, तिरहुत गाउँपालिकाका अध्यक्ष विजय कुमार यादवलगायतका जनप्रतिनिधिहरू सहभागी भएका थिए। साथै राजविराज र शम्भुनाथ नगरपालिकाका निलम्बित मेयरहरू तथा विभिन्न स्थानीय तहका वडाध्यक्षहरूको समेत सहभागिता रहेको थियो।

संघर्ष समितिले करदाता सेवा कार्यालय गाभ्ने वा खारेज गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ। माग पूरा नभएसम्म आन्दोलन जारी रहने समितिका सदस्य मोहन यादवले जानकारी दिए।

राजविराजस्थित करदाता सेवा कार्यालयअन्तर्गत ७२ हजारभन्दा बढी करदाताहरू आबद्ध छन्। गत आर्थिक वर्षमा मात्रै यस कार्यालयमार्फत १ अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन भएको थियो। सरकारले देशभर रहेका ३७ करदाता सेवा कार्यालय खारेज गरी सेवा आन्तरिक राजस्व कार्यालयमार्फत सञ्चालन गर्ने नीति अघि बढाएपछि सप्तरीमा विरोध चर्किएको हो।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर