राजविराज, २१ मंसिर – जनता समाजवादी पार्टी (जसपा) नेपाल सप्तरीले जिल्ला प्रशासन कार्यालय अगाडि जारी धर्ना कार्यक्रम दोस्रो दिन पनि निरन्तरता दिएको छ। पार्टीले संविधान संशोधन लगायत २८ बुँदे मागसहित आइतबार पनि शान्तिपूर्ण धर्नामा बस्दै आफ्नो माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने संकेत दिएको छ।

जिल्ला अध्यक्ष केदार प्रसाद यादवको नेतृत्वमा केन्द्रदेखि जिल्ला र स्थानीय तहसम्मका नेताकार्यकर्ताहरू धर्नामा सहभागी थिए। जसपा नेपालका केन्द्रीय सदस्य पुनम यादव, भिमराज यादव, मुरली प्रसाद सिंह, प्रदेशका निवर्तमान मुख्यसचिव दिनेश कुमार यादव, सदस्य किशोर कुमार केसी, लेखा समिति अध्यक्ष अमृत साँफी, उपाध्यक्ष लक्ष्मण यादव लगायतले माग सम्बोधन नभएसम्म आन्दोलन निरन्तरता दिने बताएका छन्।

धर्नाका पूर्वनिर्धारित कार्यक्रमअनुसार सोमबार पनि धर्ना जारी रहनेछ। जसपा नेपालले मधेसी, आदिवासी–जनजाति, महिला, दलित, मुस्लिम, थारु समुदायमाथि भएको अन्याय र भेदभाव अन्त्य गर्न जेनजी पुस्ताद्वारा उठाइएका न्यायसंगत माग पूरा गर्न संघर्षमा रहेको बताएको छ।

जसपा नेपाल सप्तरीले यसअघि प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल मार्फत प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापनपत्र बुझाएको थियो। ज्ञापनपत्रमा संविधान संशोधन, जेनजी विद्रोहका एजेन्डा, कोशी प्रदेश खारेज, पहिचानको आधारमा नामाङ्कन गर्नुपर्ने लगायतका २८ बुँदे माग समावेश थिए। प्रमुख जिल्ला अधिकारीले ज्ञापनपत्र तुरुन्तै प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा पठाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

पार्टीले सार्वजनिक गरेको चरणबद्ध संघर्ष कार्यक्रमअनुसार, मंसिर १० गते देशभरका सबै जिल्लाबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइयो। मंसिर ११–१५ गते प्रत्येक संसदीय क्षेत्रका शहर र बजार क्षेत्रमा विरोध कार्यक्रम, कोणसभा र जनपरिचालन अभियान सञ्चालन गरिएको थियो। मंसिर १९–२१ गते जिल्ला सदरमुकाममा धर्ना कार्यक्रम जारी रह्यो भने, मंसिर २७ देखि पौष ४ सम्म देशभर जिल्ला-स्तरीय विरोध सभा र जनसभा, र प्रदेश-स्तरीय जनप्रदर्शन तथा विरोध सभा क्रमशः पुस १२ विराटनगर, १४ जनकपुर, १५ वीरगन्ज र १७ नेपालगन्ज/भैरहवामा आयोजना गरिने छ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर