राजविराज, २१ मंसिर – करदाता सेवा कार्यालय राजविराजलाई आन्तरिक राजस्व कार्यालयमा गाभ्ने निर्णयविरुद्ध जेनजी पुस्ता तथा स्थानीय उद्योगी–व्यवसायीहरूले सोमबार जिल्ला प्रशासन कार्यालय सप्तरीअगाडि धर्ना दिएका छन्। आन्तरिक राजस्व कार्यालय स्थापना संघर्ष समिति सप्तरीको आयोजनामा सम्पन्न यस धर्नामा युवाहरूले “सुन सरकार, सप्तरीबासी सब क आवाज” लेखिएका प्लेकार्डसहित सहभागीता जनाएका थिए।
संघर्ष समितिका संयोजक मोहन यादवले विहान ११ बजेदेखि दिउँसो १ बजेसम्म चलेको धर्नामा करदाता सेवा कार्यालयलाई आन्तरिक राजस्व कार्यालयमा वृद्धि गरी स्थापना गर्नुपर्ने माग राखे। उनले कार्यालय गाभ्ने वा खारेज गर्ने कुनै षड्यन्त्र स्वीकार्य नभएको बताए र शान्तिपूर्ण आन्दोलनबाट सुनुवाइ नभए थप सशक्त आन्दोलनको चेतावनी पनि दिए।

धर्नामा रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादवसहित विभिन्न राजनीतिक दलका युवा नेता, जनप्रतिनिधि, व्यापारी–व्यवसायी र जेनजी पुस्ताका युवाहरू सहभागी थिए।
संघर्ष समितिले आगामी कार्यक्रम अनुसार मंसिर २२ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना बस्ने र मंसिर २३ गते जिल्लाभरका सम्पूर्ण नगरपालिका, गाउँपालिका, वडा कार्यालय तथा अन्य सरकारी कार्यालय बन्द गर्ने कार्यक्रम सार्वजनिक गरेको छ।
सप्तरी उद्योग–व्यवसाय संघले पनि यसअघि करदाता सेवा कार्यालय खारेज गर्ने निर्णयविरुद्ध हस्ताक्षर संकलन गरी अर्थमन्त्री समक्ष पेश गरेको थियो।
राजविराज स्थित करदाता सेवा कार्यालयमा करदाताको संख्या ७२ हजारभन्दा बढी छ। कार्यालयले आव २०८१/०८२ मा १ अर्ब राजस्व असुली गरेको थियो भने आव २०८२/०८३ मा १ अर्ब २५ लाख राजस्व असुली गर्ने लक्ष्य राखेको छ। कार्यालयमा कार्यलय प्रमुख (अफिसर) १, सुब्बा १, कम्प्युटर अपरेटर २ र ६ जना करार कर्मचारी कार्यरत छन्।
नेपाल सरकारको मन्त्री परिषद्को निर्णय अनुसार देशभरका ३७ करदाता सेवा कार्यालय खारेज गरी सेवा आन्तरिक राजस्व कार्यालयबाट प्रदान गरिने भएको छ।






