झापा — नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय ईटहरी, सुनसरीका प्रमुख वरिष्ठ प्रहरी अधीक्षक (एसपी) दीपक गिरीले शुक्रबार जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको निरीक्षण भ्रमण गरेका छन्।

निरीक्षणका क्रममा एसपी गिरीले कार्यालय अन्तर्गतका विभिन्न शाखा, ब्यारेक, मेस तथा प्रशासनिक गतिविधिको अवलोकन गर्दै कार्यप्रगति बारे जानकारी लिएका थिए। उनले ट्राफिक व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन कार्यालय प्रमुख तथा मातहत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन पनि दिएका छन्।

उनले ट्राफिक प्रहरीको व्यवहार, सेवा प्रवाह तथा अनुशासनमा सुधार ल्याई जनमैत्री ट्राफिक सेवा प्रवाह गर्न आग्रह गर्दै जनताको विश्वास जित्न सक्ने खालको काम गर्नुपर्नेमा जोड दिए।

निरीक्षणका क्रममा एसपी गिरीले ट्राफिक नियम पालनामा आम सर्वसाधारणलाई सचेत बनाउने, सडक दुर्घटना न्यूनीकरणका लागि तत्कालीन अवस्थाअनुसार रणनीति बनाउन र प्रविधिको प्रभावकारी प्रयोग गर्न सुझाव दिएका थिए।
कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सहितका अधिकारी तथा प्रहरी कर्मचारीको उपस्थिति रहेको थियो।






