
जनकपुरधाम — मधेश प्रदेश प्रहरी प्रमुख डिआइजी गोबिन्द थपलियाले आज जिल्ला प्रहरी कार्यालय धनुषाको निरीक्षण गर्दै उपस्थित प्रहरीलाई आवश्यक निर्देशन दिएका छन्।
निरीक्षणका क्रममा डिआइजी थपलियाले कार्यालयका सम्पूर्ण शाखा, कम्पाउन्ड परिसर, प्रहरी कर्मचारीको व्यक्तिगत टर्नआउट, लाइन ब्यारेक, मेस र क्यान्टिनलगायत स्थानहरूको अवलोकन गरेका थिए।

निरीक्षणपछि उनले जिल्ला प्रहरी कार्यालयमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरू तथा मातहतका युनिट इन्चार्जहरूलाई ब्रीफिङ गर्दै कर्तव्यप्रति प्रतिबद्धता, शिष्ट व्यवहार र जनमुखी सेवामा जोड दिन निर्देशन दिएका थिए।
उनले प्रहरी संगठन जनताको सुरक्षाका लागि समर्पित संस्थाको रूपमा निरन्तर चुस्त र जिम्मेवार रहनुपर्नेमा पनि जोड दिए।