राजविराज,२१ भदौ मधेस प्रदेशकी पूर्व उपसभामुख उपमा देवले मधेसको संस्कृति संरक्षण र प्रवर्द्धनमा महिलाको भूमिका महत्त्वपूर्ण रहेको बताएकी छन्।
शुक्रबार वागेश्वरी सेवा समिति महिला मंचद्वारा आयोजित जितीया मिलन समारोहलाई सम्बोधन गर्दै उनले तराई–मधेसको संस्कृतिलाई सुगन्धित बनाउने काम महिलाको कठोर त्यागबाट सम्भव भएको बताइन्।

‘तराई–मधेसको संस्कृतिलाई विश्वभर चिनाउने श्रेय महिलालाई जान्छ,’ उनले भनिन्, ‘संस्कृति जगेर्ना र यसको सुगन्ध फैलाउने काममा महिलाको भूमिकालाई बेवास्ता गर्न सकिन्न।’
पुरातन कालदेखि तराई–मधेसका महिलाले सन्तान प्राप्ति, सन्तानको सुस्वास्थ्य र दीर्घायुको कामनाका लागि कठोर जितिया व्रत बस्ने परम्परा रहेको छ। जितिया व्रतअघि महिलाहरू मिलेर जितीयाको महिमा गाउने, आपसमा रमाइलो गर्ने चलनले समाजमा आत्मीयता र एकता बलियो बनाउने विश्वास गरिन्छ।
समारोह महिला मंचकी संयोजक प्रतिमा देवको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा बागेश्वरी सेवा समितिका संस्थापक अध्यक्ष इ। इन्द्र नारायण देव,वर्तमान उपाध्यक्ष योगेन्द्र देव,मिरा देव,कृतिनारायण देव,अधिवक्ता मनु खनाल, रिता देव,शिक्षिका चित्ररेखा देव लगायतले मन्तव्य राखेका थिए।
वक्ताहरूले यस्ता कार्यक्रमले चाडपर्वलाई थप सशक्त बनाउन तथा सांस्कृतिक धरोहरको संरक्षणमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए।






