काठमाडौँ। दिनेश राउत निर्देशित फिल्म ‘महाभोज’ को प्रदर्शन मिति तय भएको छ। यो फिल्म आगामी जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा रिलिज हुनेछ।

आज फिल्मको पहिलो पोस्टर सार्वजनिक गर्दै निर्माताले चलचित्रको रिलिज मिति तोकेका हुन्। सो मितिमा नेपालसहित नेपालीहरू बसोबास गर्ने प्रायस् सबै देशहरूमा एकसाथ रिलिज हुने जनाइएको छ।

रोयल भीमसेनले डिजाइन गरेको पोस्टरमा प्रमुख कलाकारहरूको गम्भीर र चुनौतीपूर्ण हाउभाउ छ। पोस्टरको पृष्ठभूमिमा नेपाली मुद्रा झल्किने डिजाइन गरिएको छ, जसले आर्थिक असमानता र सत्ताको प्रभावलाई सङ्केत गर्छ।

पोस्टरको केन्द्रमा टोपी लगाएका पुरुषलाई देख्न सकिन्छ, जो अभिनेता आर्यन सिग्देल हुन्, उनले राजनीतिक वा प्रशासनिक व्यक्तित्वको प्रतिनिधित्व गर्न सक्छन्।

उनका वरिपरि अन्य कलाकारहरू दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ र मलिका महत छन्, उनीहरूको अनुहारमा आक्रोश, पीडा, अन्याय, र सङ्घर्षका भाव देखिन्छ।

सामाजिक तथा यथार्थपरक विषयमाथि बनेको यो फिल्म राउतको आठौँ निर्देशकीय फिल्म हो। यसमा आर्यन, दयाहाङ, खगेन्द्र, अञ्जना, गौमाया, मलिका सहित वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, वीरेन्द्र सिंह कुशवाह लगायतका कलाकारहरूको अभिनय रहेको छ।

क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त निर्माणमा तयार भएको यस चलचित्रका निर्माता हिमाल कडरिया हुन्। चलचित्रको स्क्रिप्ट विकास सुवेदीले लेखेका हुन्। छायाकार राजेश श्रेष्ठ हुन् भने सम्पादन निमेष श्रेष्ठको, ध्वनि डिजाइन उत्तम न्यौपानेको, मुख्य सहायक निर्देशन दिनेश बहादुर रावतको रहेको छ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर