
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको निजी निवासमा सुरक्षा बढाइएको छ।
बिहीबार राष्ट्रपतिमा निर्वाचन भएका पौडेल केही दिन काठमाडौंको बोहराटारस्थित निजी निवासमै बस्ने भएकाले त्यहीँ सुरक्षा थप गरिएको हो।

निर्वाचन आयोगले बिहीबार अपरान्ह पौडेल निर्वाचित भएको घोषणा गरेको छ। त्यससँगै पौडेलको सुरक्षाका लागि नेपाली सेनाको टोली निर्वाचनस्थल संसद भवनमा पुगिसकेको छ।
यस्तै गृहमन्त्रालयबाट अगुवा र पछुवासहितको टोलीपनि खटाइएको छ। तर पौडेलले सोमबार मात्रै राष्ट्रपतिको सपथग्रहण गर्नेछन्। राष्ट्रपतिले प्रधानन्यायाधीश समक्ष सपथग्रहण गर्नुपर्छ।
कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले सपथग्रहण गराउने छन्। त्यससँगै पौडेललाई औपचारिक सुरक्षासहितको सुविधा उपलब्ध गराइनेछ। शपथग्रहणसँगै पौडेल शितल निवास प्रवेश गर्नेछन्।
हालकी राष्ट्रपति विद्यादेवी भण्डारीले त्यसैदिन शीतल निवास छाड्ने र पौडेल प्रवेश गर्ने कार्यक्रम रहेको सुरक्षा स्रोतले जनाएको छ।
नवनिर्वाचित राष्ट्रपतिको स्वागत र पुरानाको बिदाइ कार्यक्रम सोमबारलाई तय भएको सैन्य स्रोतले भन्यो।
यसअघि पौडेलको सुरक्षामा नेपाल प्रहरी र सशस्त्र प्रहरी मात्रै परिचालन गरिएको थियो।
तर उनी राष्ट्रपतिमा निर्वाचित भएसँगै निवासमा पनि सेनाको टोली पठाइएको छ। बिहीबारदेखिनै पौडेल निवासमा नेपाली सेनाको टोली परिचालन गरिएको छ।
नेपाली सेनाको परमाधिपति समेत रहने भएकाले राष्ट्रपतिको सुरक्षा जिम्मा नेपाली सेनाको रहन्छ। उनी निर्वाचित भएको घोषणा भएसँगै निवासमा र उनको सुरक्षामा सेना खटाइएको हो।
पौडेल नेपालको तेस्रो राष्ट्रपति हुन्। पहिलो राष्ट्रपति कांग्रेसकै रामवरण यादव भएका थिए।
त्यसपछि एमालेकी विद्यादेवी भण्डारी दुई कार्यकाल राष्ट्रपति बनेकी थिइन्। भण्डारीको कार्यकाल यहि फागुन २८ गते सकिनेछ। त्यसदिन पौडेलले कार्यभार सम्हाल्नेछन्।
बोहोराटारस्थित पौडेल निवास