एसपी यादव/सर्लाही, मंसिर ६ गते । मधेस प्रदेश सरकारले बेरोजगारी न्यूनीकरण गर्दै युवालाई सीपयुक्त बनाई स्वरोजगार तथा आत्मनिर्भर बनाउने उद्देश्यले प्रदेशका आठवटै जिल्लामा एकीकृत रोजगार कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आज पदभार ग्रहण गर्ने क्रममा प्रदेशमा विद्यमान गरिबी, बेरोजगारी र न्यून साक्षरतालगायतका समस्या समाधान गर्न सीप विकास, रोजगारी सिर्जना तथा उद्यमशीलता प्रवर्द्धनसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने पहिलो निर्णय गरेका हुन् ।

प्रस्तावित कार्यक्रमअन्तर्गत सीप विकास तथा सार्वजनिक रोजगार सेवा प्रवर्द्धन कार्यक्रम, मुख्यमन्त्री महिला स्वरोजगार कार्यक्रम, वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिका लागि स्वरोजगार कार्यक्रम र मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्ने योजना अघि सारिएको छ ।
त्यसैगरी, आधुनिक प्रविधिमा आधारित स्वरोजगार र आत्मनिर्भरता प्रवर्द्धन गर्न कृत्रिम बुद्धिमत्ता (एआई), ई–कमर्स तथा कम्प्युटरसम्बन्धी तालिम सञ्चालन गरिने जनाइएको छ । यसबाट युवाको क्षमता अभिवृद्धि गर्नुका साथै उद्यमशीलताको विकास गर्ने प्रदेश सरकारको लक्ष्य रहेको छ ।
प्रदेशका आठवटै जिल्लामा एक महिनाभित्र कार्यक्रम प्रारम्भ गर्ने गरी आवश्यक प्रक्रिया अघि बढाउने निर्णयमा उल्लेख छ ।






