एसपी यादव/सर्लाही, मङ्सिर ६ गते । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ भारतीय समकक्षी नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा दुईदिने राजकीय भ्रमणका लागि आज (आइतबार) नयाँदिल्ली प्रस्थान गर्दैछन् ।
२०८२ साल चैत १३ गते प्रधानमन्त्री पदको शपथ लिएपछि उनको यो पहिलो औपचारिक विदेश भ्रमण हो । साथै, प्रधानमन्त्रीका रूपमा छिमेकी मुलुक भारतको पनि उनको यो पहिलो भ्रमण हो ।

नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत दिउँसो १:४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नयाँदिल्ली प्रस्थान गर्ने प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकार, उच्चपदस्थ सरकारी अधिकारी, व्यवसायी तथा पत्रकारलगायत सहभागी हुनेछन् ।
यस्तो छ प्रधानमन्त्रीको दुईदिने भ्रमण तालिका
प्रधानमन्त्री शाह आइतबार दिउँसो १:४५ बजे नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत काठमाडौँबाट नयाँदिल्ली प्रस्थान गर्नेछन् । उनी अपराह्न ३:१५ बजे नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ । भ्रमणको पहिलो दिन आइतबार साँझ ६ बजे नयाँदिल्लीस्थित होटल ताज प्यालेसमा भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यतालिका रहेको छ ।
भ्रमणको दोस्रो दिन सोमबार बिहान १० बजे राष्ट्रपति भवनमा भारत सरकारका तर्फबाट प्रदान गरिने सम्मान गारद ग्रहण गर्ने कार्यक्रम छ । त्यसपछि बिहान १०:४० बजे राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुगेर पुष्पहार अर्पण गर्नेछन् ।
सोमबार बिहान ११ बजे हैदराबाद हाउसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग एकल तथा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता हुनेछ । भेटवार्तापछि मध्याह्न १२:२५ बजे दुवै देशका प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलनमार्फत सञ्चारकर्मीलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
त्यसैगरी, अपराह्न ३:१५ बजे राष्ट्रपति भवनमा भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेटवार्ता गरेपछि प्रधानमन्त्री शाह अपराह्न ४:५० बजे स्वदेश फर्किन नयाँदिल्लीबाट प्रस्थान गर्नेछन् । उनी साँझ ६:३५ बजे काठमाडौँ आइपुग्ने कार्यतालिका रहेको छ ।
भ्रमणका मुख्य एजेन्डा र कूटनीतिक महत्त्व
भ्रमणका क्रममा नेपाल र भारतबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसँग सम्बन्धित सम्पन्न परियोजनाहरूको उद्घाटन र नयाँ परियोजनाहरूको शिलान्यास गर्ने कार्यक्रम छ । दुई देशका प्रधानमन्त्रीबीच व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायतका क्षेत्रमा आर्थिक सहकार्य विस्तार गर्ने विषयमा छलफल हुनेछ ।
त्यसैगरी, शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकासलगायतका क्षेत्रमा द्विपक्षीय सहकार्य अभिवृद्धि गर्न विभिन्न समझदारीपत्र एमओयू आदानप्रदान गर्ने कार्यक्रम छ ।
भ्रमणका अवसरमा नेपाल-भारत बिजनेस फोरमको छलफल कार्यक्रमसमेत आयोजना गरिनेछ । कार्यक्रममा प्रधानमन्त्री शाहले भारतीय व्यवसायी समुदायलाई सम्बोधन गर्दै नेपालमा लगानीका सम्भावना, लगानीमैत्री वातावरण निर्माणका लागि सरकारले अवलम्बन गरेका नीति तथा थप लगानी आकर्षित गर्ने प्रयासबारे जानकारी गराउनेछन् ।
कार्यक्रममा भारतीय व्यवसायीका चासो तथा सरोकार सुन्नुका साथै नेपाली र भारतीय व्यवसायीबीच सहकार्य विस्तार गर्ने विषयमा समेत छलफल हुनेछ ।
प्रधानमन्त्री शाहको यस भ्रमणलाई दुई देशबीचको आपसी सम्बन्ध, आर्थिक सहकार्य, पूर्वाधार विकास तथा क्षेत्रीय सम्पर्क विस्तारका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ ।






