एसपी यादव/सर्लाही, मंसिर ६ गते । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशमा सबै राजनीतिक दललाई समेटेर सहमतिको सरकार गठन गर्ने बताएका छन् ।

आइतबार मुख्यमन्त्री पदको शपथ लिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले मन्त्रिपरिषद् विस्तार र विश्वासको मत लिने विषयमा सोमबारदेखि नै सबै राजनीतिक दलसँग छलफल गर्ने जानकारी दिएका हुन् ।

यसअघि पहिलो पटक मुख्यमन्त्री हुँदा आफूले प्रदेशसभामा सबै दलको समर्थन प्राप्त गरेको स्मरण गर्दै उनले यसपटक पनि सबै दलको विश्वासको मत लिएर सरकार सञ्चालन गर्ने आफ्नो प्रयास रहने बताए । मन्त्रिपरिषद् विस्तारअघि सबै राजनीतिक दलसँग परामर्श गरिने उनको भनाइ छ ।

मुख्यमन्त्री यादवले प्रदेश सरकारको सुस्त गतिमा रहेको कामलाई तीव्रता दिने र भ्रष्टाचार नियन्त्रण गर्ने विषयलाई आफ्नो प्राथमिकतामा राखेको बताए । प्रदेशमा देखिएका भ्रष्टाचारजन्य गतिविधि नियन्त्रण गर्दै सबै दललाई समेटेर सहमतिका आधारमा सरकार सञ्चालन गर्ने उनको भनाइ थियो ।

उनले भने, ‘अब समय थोरै छ । प्रदेशका कामहरू पहिलाभन्दा केही सुस्त गतिमा भइरहेका थिए । अब त्यसलाई गति दिएर काम गर्ने र भ्रष्टाचारजन्य गतिविधि नियन्त्रण गर्दै सबै दललाई मिलाएर सहमतिको सरकार बनाउने हाम्रो प्रयास हुनेछ । हामी भोलिदेखि नै सबै दलसँग छलफल गर्छौँ । मेरो पहिलो प्राथमिकता सबै दलको सहमतिमा सरकारलाई अगाडि बढाउनु हो । यसअघि पहिलो पटक मुख्यमन्त्री हुँदा सबै दलबाट विश्वासको मत प्राप्त गरेको थिएँ । यसपटक पनि सबै दलको विश्वासको मत लिएर सरकार सञ्चालन गर्ने प्रयास रहनेछ । मन्त्रिपरिषद् विस्तार गर्नुअघि सबै दलसँग छलफल गर्छौँ ।’

यादव शनिबार मधेस प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

एसपी यादव

लेखकको बारेमा

एसपी यादव

लेखकबाट थप

पत्रकार यादव राजनीतिक, खोज अनुसन्धान र समसामयिक लगायत विषयमा रिपोर्टिङ गर्छन् ।


प्रतिक्रिया!!

सम्बन्धित खबर