एसपी यादव/सर्लाही, मङ्सिर ६ गते । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आइतबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।
प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम यादवलाई शनिबार मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

यसअघि प्रदेश प्रमुखको कार्यालयले कात्तिक २८ गते संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा नियुक्तिका लागि मंसिर ४ गते शुक्रबार अपराह्न ४ बजेसम्म दाबी पेस गर्न आह्वान गरेका थिए ।
तर, निर्धारित समयभित्र कुनै पनि दल वा प्रदेशसभा सदस्यले बहुमतको दाबीसहित निवेदन पेस नगरेपछि प्रदेशसभाको सबैभन्दा ठूलो दल जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता यादव मुख्यमन्त्री नियुक्त भएका हुन् ।
संविधानको धारा १६८ को उपधारा (३) अनुसार प्रदेशसभामा सबैभन्दा बढी सदस्य भएको दलको संसदीय दलका नेता मुख्यमन्त्री नियुक्त हुने व्यवस्था छ ।






