एसपी यादव/सर्लाही, मंसिर ५ गते । सर्लाहीको हरिपुर्वामा सुतिरहेको अवस्थामा ईट्टा प्रहार गरी गम्भीर घाइते बनाइएका एक वृद्धको उपचारका क्रममा मृत्यु भएको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले स्थानीय १९ वर्षीय युवकलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ ।

सर्लाहीका प्रहरी प्रवक्ता एवं डीएसपी वेदप्रसाद गौतमका अनुसार, हरिपुर्वा नगरपालिका-९ बसन्तपुरस्थित मुखिया चोकमा आफ्नै घरमा सानो किराना पसल सञ्चालन गर्दै आएका करिब ७४ वर्षीय सुकदेव साहको उपचारका क्रममा मृत्यु भएको हो । ईट्टा प्रहारबाट गम्भीर घाइते भएका साहको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारकै क्रममा मंसिर ३ गते मृत्यु भएको छ । भने सोही घटनामा गम्भीर घाइते भएकी उनकी करिब ७३ वर्षीया श्रीमती जिपसि देवीको भने उपचार भइरहेको डिएसपी गौतमले बताए ।

कसरी भएको थियो घटना ?

प्रहरीका अनुसार गत कात्तिक २७ गते राति करिब १० बजे सोही ठाउँका १९ वर्षीय शंकरकुमार यादवले साह दम्पती सुतिरहेको अवस्थामा उनीहरूको घरभित्र प्रवेश गरेका थिए । दुवै जना गहिरो निद्रामा रहेको मौका छोपी यादवले ईट्टाका टुक्राले उनीहरूको टाउको तथा अनुहारमा प्रहार गरी गम्भीर घाइते बनाएर फरार भएका थिए ।

भोलिपल्ट अर्थात् कात्तिक २८ गते बिहान अबेरसम्म पनि आमाबुबा नउठेपछि जेठा छोराले कोठाको ढोका खोलेर हेर्दा दुवै जनाको टाउको एवं अनुहारमा गम्भीर चोट लागी घाइते अवस्थामा फेला पारेका थिए । त्यसपछि तत्काल प्रहरीलाई खबर गरिएको थियो । प्रहरीले घाइते दम्पतीलाई उपचारका लागि जनकपुरधाम पठाएको थियो ।

गाँजा किनबेचको विवाद आक्रमणको कारण

घटनाको अनुसन्धानका क्रममा प्रहरीले कात्तिक २८ गते नै आफ्नै घरमा लुकीछिपी बसिरहेको अवस्थामा आरोपित शंकरकुमार यादवलाई पक्राउ गरेको थियो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार पक्राउ परेका यादव गाँजा सेवनकर्ता रहेको खुलेको छ । मृतक साह र आरोपित यादवबीच गाँजाको किनबेचको विषयलाई लिएर विवाद भएको र सोही रिसइबीका कारण यादवले रातिको समयमा सुतिरहेको दम्पतीमाथि सांघातिक आक्रमण गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

घटनापछि सुरुमा ज्यान मार्ने उद्योग कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको थियो । तर, घाइते सुकदेव साहको उपचारका क्रममा मृत्यु भएपछि प्रहरीले ज्यान मार्ने उद्योग तथा ज्यानसम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको डिएसपी गौतमले जानकारी दिएका छन् ।

एसपी यादव

लेखकको बारेमा

एसपी यादव

लेखकबाट थप

पत्रकार यादव राजनीतिक, खोज अनुसन्धान र समसामयिक लगायत विषयमा रिपोर्टिङ गर्छन् ।


प्रतिक्रिया!!

सम्बन्धित खबर