एसपी यादव/सर्लाही, मंसिर ५ गते । मधेश प्रदेशको मुख्यमन्त्रीमा सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम यादवलाई मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् ।
प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा नियुक्त गर्ने प्रयोजनका लागि मंसिर ४ गते शुक्रबार अपराह्न ४ बजेसम्म दाबी पेस गर्न आह्वान गरेका थिए ।

प्रदेश प्रमुख कर्णले शनिबार यादवको नियुक्तिसम्बन्धी औपचारिक पत्र जारी गरेका छन् । बारा जिल्लाका प्रदेशसभा सदस्य यादवलाई संविधानको उक्त व्यवस्थाअनुसार मधेश प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त गरिएको पत्रमा उल्लेख छ ।

प्रदेश प्रमुखको कार्यालयबाट जारी पत्रमा मुख्यमन्त्री पदमा नियुक्त भएकोमा यादवलाई बधाई दिँदै उनको कार्यकाल सफलताको कामनासमेत गरिएको छ ।
उनी यसअघि पनि मधेश प्रदेशको मुख्यमन्त्री भइसकेका छन् । उनी जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेश प्रदेश संसदीय दलका नेता हुन् ।






