एसपी यादव/सर्लाही, मंसिर ४ गते । वैदेशिक रोजगारीसम्बन्धी आर्थिक विवादलाई लिएर एक युवकको अपहरण गरी घरभित्र बन्धक बनाएको आरोपमा चार जना पक्राउ परेका छन् । प्रहरीले बन्धक बनाइएका युवकको सकुशल उद्धार गर्नुका साथै घटनालाई अतिरञ्जित गरी गलत सूचना फैलाएको आरोपमा अन्य दुई जनालाई समेत नियन्त्रणमा लिएको छ ।

सर्लाहीका प्रहरी प्रवक्ता एवं डीएसपी वेदप्रसाद गौतमका अनुसार, गत कात्तिक २७ गते राति करिब १० बजे गोडैता नगरपालिका-९ निवासी ३७ वर्षीय सुनिल कुमार रायलाई कौडेना गाउँपालिका-२ स्थित फूलपरासीबाट अपहरण गरिएको थियो ।

गौतमले भने, “बरहथवा नगरपालिका-५ निवासी ३१ वर्षीय सन्तोष कुमार महतोसहित चार/पाँच जना व्यक्ति दुईवटा मोटरसाइकलमा आएर सुनिललाई कुटपिट गर्दै जबर्जस्ती अपहरण गरी पिकअप गाडीमा राखेर बरहथवातर्फ लगेका थिए । घटनाबारे उनका आफन्तले इलाका प्रहरी कार्यालय बरहथवामा जानकारी गराएपछि प्रहरीले खोजतलास तथा अनुसन्धान सुरु गरेको थियो ।”

उनका अनुसार, प्रहरीले कात्तिक २८ गते बिहान करिब ९ बजे बरहथवा नगरपालिका-५ निवासी राजकुमार महतोको घरमा खोजतलास गर्दा सुनिललाई एउटा कोठाभित्र बन्धक बनाइएको अवस्थामा फेला पारेको थियो । प्रहरीले उनलाई सकुशल उद्धार गरी घटनामा संलग्न रहेको आरोपमा सन्तोष कुमार महतोलाई नियन्त्रणमा लिएको थियो ।

गौतमले घटनामा संलग्न अन्य व्यक्तिहरूको पहिचान गरी सोही दिन बरहथवा नगरपालिका-७ स्थित दूध डेरी चोकबाट थप तीन जनालाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ पर्नेमा बरहथवा नगरपालिका-५ निवासी ५४ वर्षीय बिशेश्वर महतो, २७ वर्षीय प्रमोद कुमार महतो र २५ वर्षीय अमित कुमार महतो रहेका छन् ।

प्रहरीका अनुसार, अनुसन्धानका क्रममा अपहरणको कारण वैदेशिक रोजगारीसम्बन्धी आर्थिक विवाद रहेको खुलेको छ । उक्त विवादसँग सम्बन्धित रकम जबर्जस्ती असुल गर्ने उद्देश्यले युवकको अपहरण गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

त्यस्तै, अपहरणकारीहरूले फिरौती मागेको र फिरौती रकम बुझाउन जाँदा तीन लाख रुपैयाँ तथा गरगहनासमेत लुटिएको भन्दै घटनालाई अतिरञ्जित गरी गलत सूचना फैलाएको आरोपमा बरहथवा नगरपालिका-१२ निवासी ४२ वर्षीय रामनारायण यादव र ४० वर्षीया निलव देवीलाई समेत प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

अपहरण तथा शरीर बन्धकसम्बन्धी कसुरमा पक्राउ परेका चारै जनालाई अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको डीएसपी गौतमले जानकारी दिएका छन् । यस घटनामा अपहरणमा संलग्न रहेको आरोपमा चार जना र घटनाबारे गलत सूचना फैलाएको आरोपमा अन्य दुई जना गरी कुल छ जना प्रहरी नियन्त्रणमा रहेको उनले बताए ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर