एसपी यादव/सर्लाही, २८ कात्तिक । मकवानपुरमा भएको भीषण सवारी दुर्घटनामा ज्यान गुमाएका सर्लाहीको चक्रघट्टा गाउँपालिका-४ सुन्दरपुरका १२ जनाको शुक्रबार राति लखनदेही खोलामा सामूहिक अन्त्येष्टि गरिएको छ । एउटै गाउँ, एउटै टोल तथा एउटै समुदायका १२ जनाको एकैपटक अन्तिम संस्कार गरिएपछि सिंगो सुन्दरपुर गाउँ शोकमा डुबेको छ ।

दुर्घटनापछि उत्पन्न परिस्थितिमा पीडित परिवारले अघि सारेका माग सम्बोधन गर्ने सहमति जुटेपछि मृतकहरूको पोस्टमार्टम प्रक्रिया सम्पन्न गरिएको थियो । त्यसपछि परिवारजनले शुक्रबार साँझ शव बुझेर राति नै १२ वटै शव सुन्दरपुर गाउँ ल्याएका थिए । गाउँमा शव ल्याइएपछि शुक्रबार मध्यराति लखनदेही खोलामा सामूहिक रूपमा अन्तिम संस्कार गरिएको हो ।

सामूहिक अन्त्येष्टि गरिएकाहरूमा प्रमोद यादवका छोरा गुड्डु यादव र बुहारी गायत्रीदेवी यादव, रामसुनर यादवका छोराहरू विकेश यादव र सुदेश यादव, बुहारी पुनम यादव तथा नातिनीहरू अनु यादव, दीक्षा यादव र दीपिका यादव रहेका छन् । त्यसैगरी निरसु रायका छोरा राकेश राय, नाति रोहन राय, चन्देश्वर रायका छोरा सुबोध राय र निरस रायका छोरा रामदुलार रायको पनि सोही स्थानमा अन्त्येष्टि गरिएको छ ।

यसैगरी दुर्घटनामा ज्यान गुमाएका अमिरी रायका छोरा रामप्रवेश रायको मलंगवा नगरपालिका-७ स्थित गणेशिया गाउँमा अन्तिम संस्कार गरिएको छ । उनको स्थायी घर सुन्दरपुर भए पनि हाल गणेशियामा बसोबास गर्दै आएकाले परिवारजनले शव त्यहीँ लगेर अन्तिम संस्कार गरेका हुन् ।

दुर्घटनामा ज्यान गुमाएका सवारीचालक कविलासी नगरपालिका-८ का रविशंकर मण्डलको शव भने बिहीबार नै परिवारजनले बुझेर घर लगेका थिए । उनको अन्त्येष्टि शुक्रबार बिहान ३ बजे नै गरिएको कविलासीका स्थानीय लक्ष्मण साहले जानकारी दिएका छन् ।

मध्यरातमा अन्त्येष्टि गरिए पनि मृतकहरूलाई अन्तिम बिदाइ गर्न सुन्दरपुरसहित आसपासका गाउँबाट ठूलो संख्यामा सर्वसाधारण उपस्थित भएका थिए । शोकाकुल परिवारलाई सान्त्वना दिन तथा मृतकप्रति अन्तिम श्रद्धाञ्जली व्यक्त गर्न भेला भएको भीड व्यवस्थापन गर्न सुरक्षाकर्मीलाई समेत हम्मेहम्मे परेको थियो । स्थानीय युवा नेता विजय साह तेलिका अनुसार अन्त्येष्टि दिउँसोको समयमा गरिएको भए मलामीको संख्या अझै ठूलो हुने थियो ।

एउटै गाउँ, एउटै टोल र एउटै समुदायका एकभन्दा बढी सदस्यसहित यादव समुदायका १३ जनाले एउटै दुर्घटनामा ज्यान गुमाएपछि सुन्दरपुर गाउँ यतिबेला गहिरो शोकमा छ । गाउँका धेरै घरमा एकैपटक चुलो नबलेको अवस्था छ भने आफन्तजनको असामयिक निधनले परिवारहरू विक्षिप्त बनेका छन् ।

छठ पर्व मनाउन काठमाडौँबाट आफ्नो गाउँ फर्किने क्रममा भएको उक्त दुर्घटनाले सुन्दरपुरका धेरै परिवारमा अपूरणीय क्षति पुर्‍याएको छ । गाउँभरि शोक र सन्नाटा छाएको छ भने आफन्त, छिमेकी तथा स्थानीयवासी मृतकहरूको सम्झनामा भावविह्वल बनेका छन् ।

एसपी यादव

लेखकको बारेमा

एसपी यादव

लेखकबाट थप

पत्रकार यादव राजनीतिक, खोज अनुसन्धान र समसामयिक लगायत विषयमा रिपोर्टिङ गर्छन् ।


प्रतिक्रिया!!

सम्बन्धित खबर