क्षतिपूर्ति, घाइतेको निःशुल्क उपचार र अभिभावकविहीन बालबालिकाको पालनपोषण तथा शिक्षाको जिम्मा सरकारले लिने सहमति

एसपी यादव/सर्लाही, २७ कात्तिक । मकवानपुरमा बिहीबार बिहान भएको भीषण सवारी दुर्घटनामा ज्यान गुमाएका सर्लाहीको चक्रघट्टा गाउँपालिका-४ सुन्दरपुरका १३ जनाको शव शुक्रबार राती गाउँ ल्याइएको छ । दुर्घटनामा एउटै गाउँका १३ जनाले ज्यान गुमाएपछि यतिबेला सिंगो सुन्दरपुर गाउँ शोकमा डुबेको छ ।

दुर्घटनापछि उत्पन्न परिस्थितिमा पीडित परिवारले अघि सारेका माग सम्बोधन गर्ने सहमति जुटेपछि मृतकका शवको पोस्टमार्टम प्रक्रिया सम्पन्न गरी परिवारले शव बुझेका हुन् । अहिले सबै १३ वटा शव सुन्दरपुर गाउँमा ल्याइसकिएको छ । स्थानीय बासिन्दा तथा आफन्तजनलाई अन्तिम दर्शनका लागि केही समय गाउँमा शव राखिने र त्यसपछि आजै राति सामूहिक दाहसंस्कार गर्ने तयारी गरिएको छ ।

मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलको नेतृत्वमा गठित पाँच सदस्यीय छानबिन समिति, बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गीरबहादुर तामाङ, स्थानीय प्रशासन, पीडित परिवार, मधेस प्रदेशसभा सदस्य एवं पूर्वअर्थमन्त्री सञ्जयकुमार यादव, चक्रघट्टा गाउँपालिका अध्यक्ष कृष्णकुमार यादवसहित पालिकाका जनप्रतिनिधिबीच भएको लामो छलफलपछि पीडित पक्षका माग सम्बोधन गर्ने सहमति भएको हो ।

सहमति अनुसार छानबिन समितिले एक साताभित्र दुर्घटनाबारे छानबिन गरी दोषी देखिएकालाई कारबाहीको दायरामा ल्याउनेछ । त्यस्तै, दुर्घटनामा घाइते भएकाहरूको सम्पूर्ण उपचार निःशुल्क गर्ने, मृतकका परिवारले प्रचलित कानुनबमोजिम पाउने क्षतिपूर्तिका अतिरिक्त सरकारले थप राहत तथा क्षतिपूर्ति उपलब्ध गराउने सहमति भएको छ । यसैगरी, दुर्घटनामा अभिभावक गुमाएका बालबालिकाको पालनपोषण, शिक्षा तथा उपचारको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने मागसमेत सम्बोधन गर्ने सहमति भएको छ ।

पीडित परिवारका माग सम्बोधन गर्ने प्रतिबद्धतापछि पोस्टमार्टम प्रक्रिया अगाडि बढाइएको र शव बुझ्ने कार्य सम्पन्न भएको हो ।

छठ पर्व मनाउन घर फर्किने क्रममा भएको दुर्घटनाले गाउँका कैयौँ परिवारलाई जीवनभरको पीडा दिएको छ । यतिबेला सुन्दरपुरमा चुलो बलेको छैन, गाउँवासीका आँखामा आँसु छन् । आफन्त गुमाएका परिवारको पीडा र गाउँको सन्नाटाले सिंगो क्षेत्रलाई स्तब्ध बनाएको छ । आज सुन्दरपुर गाउँले आफ्ना १३ जना प्रियजनलाई एकैसाथ अन्तिम बिदाइ गर्दैछ ।

एसपी यादव

लेखकको बारेमा

एसपी यादव

लेखकबाट थप

पत्रकार यादव राजनीतिक, खोज अनुसन्धान र समसामयिक लगायत विषयमा रिपोर्टिङ गर्छन् ।


प्रतिक्रिया!!

सम्बन्धित खबर