एसपी यादव/सर्लाही, २७ कात्तिक । जिल्लाको गोडैता नगरपालिका-२ जयपुरस्थित श्री जनता आधारभूत विद्यालयमा बालविकास शिक्षिका नियुक्ति प्रक्रिया विवादमा परेको छ । सार्वजनिक सूचना जारी नगरी विद्यालय बन्द हुने लामो बिदाको मौका पारेर सीमित व्यक्तिलाई जानकारी दिई भर्ना प्रक्रिया अघि बढाउन खोजिएको आरोप लागेपछि विद्यालय प्रशासनको कार्यशैलीमाथि प्रश्न उठेको हो ।
बालविकास शिक्षिकाको रिक्त पदमा प्रतिस्पर्धात्मक, निष्पक्ष र पारदर्शी प्रक्रियाबाट नियुक्ति हुनुपर्नेमा विद्यालय प्रशासनले सार्वजनिक रूपमा सूचना प्रकाशन नगरी गोप्य रूपमा आवेदन प्रक्रिया अघि बढाउन खोजेको स्थानीयको आरोप छ । स्थानीयका अनुसार विद्यालयका प्रधानाध्यापक गर्भु महतोले आफूअनुकूल व्यक्तिलाई नियुक्त गर्ने उद्देश्यले दीपावली तथा छठ पर्वको लामो बिदाको समयलाई लक्षित गरी भर्ना प्रक्रिया अघि बढाउन खोजेका हुन् । विद्यालयमा सार्वजनिक सूचना टाँस नगरी सीमित व्यक्तिलाई मात्रै जानकारी हुने गरी प्रक्रिया सञ्चालन गर्न खोजिएको उनीहरूको दाबी छ ।

स्थानीय सञ्चारकर्मी राधेश्याम कुश्वाहाका अनुसार, यस विषयमा प्रधानाध्यापक महतोसँग जिज्ञासा राख्दा उनले सूचना गोप्य राख्ने कुनै मनसाय नरहेको दाबी गरे पनि हालसम्म विद्यालयमा सार्वजनिक सूचना टाँस नगरिएको स्वीकार गरेका छन् । विद्यालय लामो समय बन्द रहने अवधिमै भर्ना प्रक्रिया अघि बढाउन खोज्नुको कारण र सार्वजनिक सूचना प्रकाशन नगर्नुको औचित्यबारे सोधिएको प्रश्नमा भने प्रधानाध्यापक महतोले चित्तबुझ्दो जवाफ दिन नसकेको कुश्वाहाले बताए ।

भर्नाका लागि आवेदन खुलाइएको जानकारी पाएपछि आवेदन दिन विद्यालय पुगेका स्थानीय युवा नागेन्द्र महतो आवेदन नै नदिई फर्किनुपरेको बताएका छन् । आफू आवेदन दिन पुग्दा प्रधानाध्यापकले आवेदन खुलाइएको छैन भनेपछि फर्किनुपरेको उनको भनाइ छ । यस घटनाले विद्यालयमा वास्तवमै आवेदन प्रक्रिया खुलाइएको थियो वा सीमित व्यक्तिलाई मात्र जानकारी दिइएको थियो भन्ने प्रश्न खडा गरेको छ ।
यसैबीच, गोडैता नगरपालिकाका शिक्षा शाखा प्रमुख प्रमोद यादवले शिक्षक भर्ना प्रक्रियामा निष्पक्षता, पारदर्शिता र निर्धारित मापदण्डको पालना गर्ने जिम्मेवारी प्रधानाध्यापक तथा विद्यालय प्रशासनको भएको बताएका छन् । सार्वजनिक सूचना जारी नगरी गरिएको भर्ना प्रक्रिया अवैधानिक हुन सक्ने र त्यस्तो प्रक्रियालाई मान्यता दिन कठिन हुने उनको भनाइ छ । उनले यस विषयमा प्रधानाध्यापक महतोसँग बुझ्ने पनि बताएका छन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शम्भु मुखियाले भने भर्नासम्बन्धी सूचना निकाल्ने विषयमा छलफल भए पनि सूचना प्रकाशन गरिएकोबारे आफूलाई जानकारी नभएको बताएका छन् । दीपावली तथा छठ पर्वपछि मात्रै सूचना प्रकाशन गर्नुपर्ने आफ्नो धारणा रहेको उल्लेख गर्दै उनले प्रधानाध्यापक महतोले आफूलाई जानकारी नदिई विद्यालयमा विभिन्न गतिविधि सञ्चालन गर्ने गरेको आरोपसमेत लगाए ।
स्थानीयका अनुसार दीपावली तथा छठ पर्वको बिदालाई उपयोग गर्दै १५ दिनको म्याद राखेर विद्यालय बन्द हुनुअघि नै आवेदन खुलाउने र छठपछि विद्यालय सञ्चालनमा आएलगत्तै पूर्वनिर्धारित उम्मेदवारलाई नियुक्त गर्ने तयारी गरिएको आशंका छ ।
यता, गोडैता नगरपालिका-२ का वडाध्यक्ष अजय साहले आफूलाई विद्यालयको भर्ना प्रक्रियाबारे कुनै जानकारी नभएको बताएका छन् । विद्यालयमा हुने गतिविधिबारे प्रधानाध्यापकले आफूसँग आवश्यक समन्वयसमेत नगर्ने गरेको उनको भनाइ छ ।
शिक्षक नियुक्ति कुनै व्यक्तिको निजी निर्णय वा स्वार्थको विषय नभई सार्वजनिक सरोकारसँग जोडिएको प्रक्रिया हो । यस्तो नियुक्तिमा सबै योग्य तथा इच्छुक उम्मेदवारले समान अवसर पाउने वातावरण सुनिश्चित गर्नु विद्यालय प्रशासनको दायित्व हो । सार्वजनिक सूचना, आवेदनको समयसीमा, छनोटका आधार र नतिजासमेत पारदर्शी हुनुपर्नेमा गोप्य रूपमा प्रक्रिया अघि बढाइएको आरोपले नियुक्तिको निष्पक्षतामाथि गम्भीर प्रश्न उठाएको छ ।
अब नगरपालिकाको शिक्षा शाखाले यस विषयमा औपचारिक छानबिन गरी आवश्यक कदम चाल्छ कि चाल्दैन भन्ने चासो बढेको छ । साथै, विद्यालय प्रशासनले भर्ना प्रक्रियासम्बन्धी सम्पूर्ण विवरण सार्वजनिक गर्दै उठेका प्रश्नको जवाफ दिनुपर्ने मागसमेत स्थानीयस्तरमा उठ्न थालेको छ ।






