एसपी यादव/सर्लाही, २६ कात्तिक । मकवानपुरको भीमफेदीमा भएको भीषण सवारी दुर्घटनामा सर्लाहीको चक्रघट्टा गाउँपालिका-४ सुन्दरपुरका १३ जनाको दुःखद निधन भएपछि गाउँपालिकाले शुक्रबार एक दिन सार्वजनिक शोक बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाले दुर्घटनामा ज्यान गुमाएका प्रत्येक व्यक्तिका परिवारलाई प्रतिमृतक ५० हजार रुपैयाँका दरले आर्थिक सहायता उपलब्ध गराउनेसमेत घोषणा गरेको छ ।

is

बिहीबार बिहान करिब ५ः४५ बजे मकवानपुरको भीमफेदी गाउँपालिका-६ स्थित चिसापानी गढीमा यात्रुवाहक विद्युतीय सवारीसाधन (ईभी) सडकबाट करिब ५०० मिटर तल भीरमा खसेर दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा सुन्दरपुरका १३ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

छठ पर्व मनाउन काठमाडौँबाट आफ्नो गाउँ फर्किंदै गरेका एउटै टोलका स्थानीय बासिन्दाहरू दुर्घटनामा परेका हुन् । दुर्घटनामा एउटै परिवारका एकभन्दा बढी सदस्यसमेत परेको छ । म.प्र. ०३-००१ ज ०८८० नम्बरको उक्त विद्युतीय गाडीमा चालकसहित २० जना सवार रहेको खुलेको छ ।

यस हृदयविदारक घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै गाउँपालिका अध्यक्ष कृष्ण कुमार यादवले बिहीबार शोक विज्ञप्ति जारी गरेका छन् । उनले दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेका छन् । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

मृतकहरूको अन्तिम संस्कार तथा काजकिरिया कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले गाउँपालिकाको तर्फबाट दुर्घटनामा ज्यान गुमाएका प्रत्येक व्यक्तिका परिवारलाई प्रतिमृतक ५० हजार रुपैयाँका दरले आर्थिक सहयोग उपलब्ध गराइनेछ । विपद्को यस घडीमा पीडित परिवारलाई राहत तथा मानवीय सहयोग पुर्‍याउने उद्देश्यले उक्त निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष कृष्ण कुमार यादवले जनाएको छ ।

त्यस्तै, यस दु:खद दुर्घटनाप्रति ऐक्यबद्धता जनाउँदै शोक प्रकट गर्न शुक्रबार गाउँपालिकाभित्रका गाउँ कार्यपालिकाको कार्यालय, सम्पूर्ण वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक तथा संस्थागत विद्यालयलगायत सरकारी तथा गैरसरकारी कार्यालयहरूमा शोक बिदा दिने निर्णय गरिएको छ ।

शोक बिदाका दिन गाउँपालिका क्षेत्रभित्रका सरकारी तथा सार्वजनिक कार्यालयहरूको नियमित सेवा प्रवाह बन्द रहने भए पनि स्वास्थ्य संस्थाबाट प्रदान गरिने आकस्मिक स्वास्थ्य सेवा भने नियमित सञ्चालन हुने गाउँपालिकाले स्पष्ट पारेको छ ।

अध्यक्ष यादवद्वारा हस्ताक्षरित विज्ञप्तिमा दुर्घटनाले समग्र गाउँपालिकालाई स्तब्ध र मर्माहत बनाएको उल्लेख गर्दै पीडित परिवारलाई यस असह्य पीडाको घडीमा एक्लो महसुस हुन नदिने प्रतिबद्धतासमेत व्यक्त गरिएको छ ।

दुर्घटनामा सर्लाहीको कविलासी नगरपालिका-८ निवासी करिब ३० वर्षीय चालक रविशंकर कुमार मण्डलको समेत मृत्यु भएको छ ।

एसपी यादव

लेखकको बारेमा

एसपी यादव

लेखकबाट थप

पत्रकार यादव राजनीतिक, खोज अनुसन्धान र समसामयिक लगायत विषयमा रिपोर्टिङ गर्छन् ।


प्रतिक्रिया!!

सम्बन्धित खबर