एसपी यादव/सर्लाही, २६ कात्तिक । मकवानपुरमा यात्रुवाहक विद्युतीय (ईभी) गाडी भीषण दुर्घटनामा पर्दा सर्लाहीको चक्रघट्टा गाउँपालिका-४ सुन्दरपुरका १३ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा अर्का एकजना कविलासी नगरपालिका-८ निवासी करिब ३० वर्षीय चालक रविशंकर कुमार मण्डल रहेका छन् । छठ पर्व मनाउन काठमाडौँबाट आफ्नो गाउँ फर्किंदै गरेका एउटै टोलका बासिन्दा दुर्घटनामा परेका हुन् ।

बिहीबार बिहान करिब ५ः४५ बजे मकवानपुरको भीमफेदी गाउँपालिका-६ स्थित चिसापानी गढीमा सडकबाट करिब ५०० मिटर तल भीरमा खसेर गाडी दुर्घटना भएको हो । म.प्र. ०३-००१ ज ०८८० नम्बरको उक्त ईभी गाडीमा चालकसहित २० जना सवार रहेको खुलेको छ ।
दुर्घटनाको सूचना बिहान ५ः५५ बजे प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो । मकवानपुरका प्रहरी प्रमुख एसपी श्यामबहादुर खत्रीका अनुसार, दुर्घटनामा परेका यात्रुको उद्धारका लागि तत्कालै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, नेपाली सेना र बागमती प्रदेश प्रहरीका थप टोली परिचालन गरिएको थियो ।
मकवानपुर प्रहरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद काफ्लेका अनुसार, दुर्घटनास्थलबाट हालसम्म १४ जनाको शव निकालिएको छ भने दुर्घटनामा छ जना घाइते भएका छन् ।
तीन घाइतेको थप उपचारका लागि काठमाडौँ र भरतपुरमा रिफर
दुर्घटनामा घाइते भएका छ जनालाई उद्धार गरी हेटौँडास्थित प्रादेशिक अस्पताल पुर्याइएको थियो । घाइतेमध्ये तीन जनालाई थप उपचारका लागि काठमाडौँ र भरतपुरका अस्पतालमा रिफर गरिएको छ भने तीन जना उपचारपछि डिस्चार्ज भएका छन् ।
घाइतेमध्ये चक्रघट्टा-४ सुन्दरपुरका करिब ३३ वर्षीय मुकेश यादवको टाउको र ढाडमा चोट लागेको थियो । उनको अवस्था सामान्य रहेको र उपचारपछि बिहीबार दिउँसो १ः४० बजे डिस्चार्ज गरिएको छ । त्यस्तै, गुड्डु यादवका पाँच वर्षीय छोरा सक्षम कुमार यादवको शरीरमा भित्री चोट लागेको थियो । उनको अवस्था पनि सामान्य रहेको र उपचारपछि डिस्चार्ज गरिएको छ । अर्का करिब २६ वर्षीय देवेन्द्र रायको टाउको र दुवै खुट्टामा चोट लागेको थियो । उनको अवस्था मध्यम रहे पनि उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ ।
गुड्डु यादवकै तीन वर्षीय छोरा सुजन यादवको टाउको र मुखमा चोट लागेको छ । उनको अवस्था मध्यम रहेकाले थप उपचारका लागि काठमाडौँस्थित मेडिसिटी अस्पताल रिफर गरिएको छ । त्यसैगरी, सुन्दरपुरकै करिब ३१ वर्षीय बेचु भन्ने देवेन्द्र रायको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको र थप उपचारका लागि भरतपुरस्थित मनकामना अस्पताल रिफर गरिएको छ । त्यस्तै, अवधेश यादवका १४ महिनाका छोरा सुदीप यादवलाई पनि घाइते अवस्थामा उद्धार गरिएको थियो । उनलाई थप उपचारका लागि काठमाडौँस्थित मेडिसिटी अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ ।
हालसम्म १४ मृतकको पहिचान खुल्यो
डीएसपी काफ्लेका अनुसार, दुर्घटनामा मृत्यु हुनेहरूमा सर्लाहीको कविलासी नगरपालिका-८ निवासी करिब ३० वर्षीय चालक रविशंकर कुमार मण्डल रहेका छन् ।
त्यस्तै, सर्लाहीको चक्रघट्टा गाउँपालिका-४ सुन्दरपुर निवासी करिब २६ वर्षीय बिकेश यादव, अवधेश यादवकी ३५ वर्षीया श्रीमती पुनम यादव तथा उनका छोरीहरू सात वर्षीया दिक्षा यादव, पाँच वर्षीया दिपिका यादव र १० वर्षीया अनु कुमारी यादव रहेका छन् ।
यसैगरी, सोही स्थानका करिब ३६ वर्षीय गुड्डु यादव, उनकी करिब ३२ वर्षीया श्रीमती गायत्री देवी, करिब २६ वर्षीय रामदुलार यादव, करिब २५ वर्षीय सुबोध यादव, करिब १५ वर्षीय रोहन यादव, करिब ३५ वर्षीय राकेश यादब, करिब २८ वर्षीय छोटु राय भन्ने राम प्रसाद राय यादब र अन्दाजी १८ वर्षीय सुधेश यादवको पनि दुर्घटनामा मृत्यु भएको डीएसपी काफ्लेले जानकारी दिएका छन् ।
उद्धारमा चारवटै सुरक्षा निकाय परिचालित
दुर्घटनापछि उद्धार कार्यलाई तीव्रता दिन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, नेपाली सेना तथा बागमती प्रदेश प्रहरीका थप टोली परिचालन गरिएको थियो ।
इलाका प्रहरी कार्यालय भीमफेदी, जिल्ला प्रहरी कार्यालय मकवानपुर, सशस्त्र प्रहरीको कारागार सुरक्षा बेस भीमफेदी, नेपाली सेना तथा बागमती प्रदेश विपद् व्यवस्थापन गुल्मबाट सुरक्षाकर्मी घटनास्थलमा खटिएका थिए ।
सुन्दरपुर गाउँ शोकमा, जनप्रतिनिधि घटनास्थलमा
सुन्दरपुरका स्थानीय युवा नेता विजय साह तेलीका अनुसार, दुर्घटनामा परेका यात्रुहरू चक्रघट्टा गाउँपालिका-४ सुन्दरपुरकै एउटै टोलका बासिन्दा तथा यादव समुदायका हुन् । उनीहरू छठ पर्व मनाउन काठमाडौँबाट आफ्नो गाउँ फर्किने क्रममा दुर्घटनामा परेका थिए । एउटै गाउँ र एउटै टोलका ठूलो संख्यामा मानिसको मृत्यु तथा घाइते भएको खबर फैलिएपछि सुन्दरपुर गाउँ शोकमा डुबेको छ । गाउँका परिवारमा रुवाबासी छाएको छ भने सिंगो बस्ती शोकाकुल बनेको छ ।
दुर्घटनाको खबर पाएलगत्तै चक्रघट्टा गाउँपालिकाका अध्यक्ष कृष्णदेव यादव र वडा नम्बर ३ का अध्यक्ष दिनेश साहलगायतको टोली घटनास्थल पुगेको स्थानीय युवा नेता तेलीले जानकारी दिए ।
छठ पर्वको खुसीयाली मनाउन घर फर्किंदै गरेका यात्रुहरू बाटोमै दुर्घटनामा परेपछि सुन्दरपुर गाउँमा ठूलो मानवीय क्षति भएको छ ।
दुर्घटनाको वास्तविक कारण भने खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान जारी रहेको डिएसपी काफ्लेले जनाएको छ ।






