एसपी यादव/सर्लाही, मंसिर ५ गते । छोरा सम्पर्कविहीन भएपछि खोजी तथा उद्धारका लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा फोन गरेका एक प्रहरी हवल्दारमाथि आफूलाई प्रहरी नायब निरीक्षक (सई) बताउने कर्मचारीले गालीगलौज गरेको अडियो सार्वजनिक भएपछि मधेश प्रदेश प्रहरी कार्यालयले छानबिन तथा कारबाही प्रक्रिया अघि बढाएको छ ।
रौतहटको डुमरिया सुरक्षा बेसमा कार्यरत प्रहरी हवल्दार सुरेशप्रसाद यादव आफ्नो छोरा सम्पर्कविहीन भएपछि खोजी तथा उद्धारका लागि जिल्ला प्रहरी कार्यालय रौतहटको सञ्चार शाखामा फोन गरेका थिए । सोही क्रममा सञ्चार शाखाको ड्युटीमा रहेका आफूलाई सई बताउने प्रहरी कर्मचारीले ‘जय नेपाल’ नभनेको भन्दै उनीमाथि अपशब्द प्रयोग गरी गालीगलौज गरेको अडियोमा सुनिन्छ ।

सार्वजनिक अडियो संवादमा हवल्दार यादवले फोनमा ‘को बोल्नुभयो सर, हवल्दार साहेब कि असई साहेब ?’ भन्दै परिचय सोधेको सुनिन्छ । त्यसपछि सञ्चार शाखामा रहेका प्रहरी कर्मचारीले उनको बोल्ने शैलीप्रति प्रश्न गर्दै झपारेको र आफ्नो दर्जा बताउन नमिल्ने आशयको जवाफ दिएको सुनिन्छ ।
आफू सई भएको परिचय पाएपछि हवल्दार यादवले ‘जय नेपाल’ भनेका थिए । तर, छोरा हराएको संवेदनशील विषयमा जानकारी गराउन खोज्दा समेत उनीमाथि गालीगलौज भएको अडियोमा सुनिन्छ । सर्वसाधारणको सुरक्षा र उद्धारमा खटिनुपर्ने प्रहरी कर्मचारीबाटै आफ्नै सहकर्मीमाथि भएको भनिएको यस्तो व्यवहारको अडियो सार्वजनिक भएपछि घटनाले प्रहरी संगठनभित्रै चर्चा र आलोचना निम्त्याएको छ ।
घटनाबारे सार्वजनिक अडियो र त्यसपछि उत्पन्न प्रतिक्रियालाई मध्यनजर गर्दै नेपाल प्रहरीको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामले गम्भीर ध्यानाकर्षण जनाएको छ ।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रभु प्रसाद ढकालद्वारा शनिबार जारी प्रेस विज्ञप्तिअनुसार, मंसिर ४ गते जिल्ला प्रहरी कार्यालय रौतहटको सञ्चार शाखामा कार्यरत प्रहरी कर्मचारी र सोही जिल्लास्थित डुमरिया सुरक्षा बेसमा कार्यरत प्रहरी कर्मचारीबीच भएको अडियो संवादमा सुनिएको भाषा, शब्द र शैलीप्रति कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ ।
विज्ञप्तिमा घटनामा संलग्न प्रहरी कर्मचारीहरूलाई प्रदेश प्रहरी कार्यालयमा झिकाइएको र घटनाको वास्तविकता पत्ता लगाउन छानबिन समिति गठन गरिएको उल्लेख छ ।
छानबिनबाट दोषी ठहर हुने प्रहरी कर्मचारीलाई प्रहरी नियमावली, २०७१ (संशोधनसहित) बमोजिम आवश्यक कारबाही गर्ने प्रक्रिया अगाडि बढाइसकिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी संगठनभित्रको अनुशासन, मर्यादा र सहकर्मीप्रतिको व्यवहारमाथि प्रश्न उठाएको यस घटनामा प्रदेश प्रहरी कार्यालयले छानबिन समिति गठन गरी कारबाही प्रक्रिया अघि बढाएपछि अनुसन्धानको निष्कर्ष र दोषीमाथि हुने कारबाही चासोको विषय बनेको छ ।






