एसपी यादव/सर्लाही, मंसिर ३ गते । सर्लाहीमा नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी एक महिलाको उपचारका लागि आर्थिक अभाव भएपछि घर फर्काइएको अवस्थामा मृत्यु भएको छ ।
मृत्यु हुनेमा धनकौल गाउँपालिका-२ तेल बजार निवासी विदेनी साहकी श्रीमती ४५ वर्षीया बच्ची देवी भन्ने पसिया देवी रहेकी छन् ।

सर्लाहीका प्रहरी प्रवक्ता एवं डीएसपी वेदप्रसाद गौतमका अनुसार, गत कात्तिक २९ गते साँझ करिब ७:१५ बजे तेल बजारबाट हरकटवातर्फ जाँदै गरेको नम्बर नखुलेको मोटरसाइकलले पैदल हिँडिरहेकी पसिया देवीलाई पछाडिबाट ठक्कर दिएको थियो । दुर्घटनामा उनको टाउकोमा चोट लाग्नुका साथै बायाँ खुट्टा भाँचिएको थियो । गम्भीर घाइते उनलाई उपचारका लागि सुरुमा वीरगन्ज लगिएको थियो । त्यसपछि नारायणी अस्पताल हुँदै थप उपचारका लागि नेसनल मेडिकल कलेज पुर्याइएको थियो । तर, आर्थिक अभावका कारण उपचार गराउन नसकेपछि मंसिर १ गते साँझ करिब ५:३० बजे उनलाई घर फर्काइएको थियो ।
घर फर्काइएकी पसिया देवीको मंसिर २ गते राति करिब ९:४५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेर आवश्यक कानुनी प्रक्रिया पूरा गरेको थियो ।
मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको थियो । पोस्टमार्टमपछि मंसिर ३ गते बिहीबार दिउँसो १ बजे मृतककी बुहारी रिता देवीले शव बुझेर लगेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा संलग्न मोटरसाइकल र चालकको पहिचान हुन नसकेको र उनीहरूको खोजी भइरहेको डीएसपी गौतमले जानकारी दिए ।






