एसपी यादव/सर्लाही, मंसिर १ गते । जिल्लाको बसबरिया गाउँपालिकाका अध्यक्ष रामसिंहासन राय यादवलाई सरकारी कागजात किर्ते गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ ।
सर्लाहीका प्रहरी प्रवक्ता एवं डीएसपी वेदप्रसाद गौतमका अनुसार, अध्यक्ष यादवलाई मंगलबार साँझ करिब ७ः४५ बजे बसबरिया क्षेत्रबाट नियन्त्रणमा लिइएको हो ।

सरकारी कागजात किर्ते गरेको आरोपमा अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको डीएसपी गौतमले जानकारी दिए । यस घटनाबारे थप विवरण भने आउन बाँकी छ ।
उनी २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) नेपालका तर्फबाट गाउँपालिका अध्यक्ष पदमा निर्वाचित भएका थिए ।






