एसपी यादव/सर्लाही, २६ कात्तिक । मकवानपुरमा यात्रुवाहक विद्युतीय (ईभी) गाडी भीषण दुर्घटनामा पर्दा सर्लाहीका १० जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । काठमाडौँबाट सर्लाहीको चक्रघट्टा गाउँपालिका-४ सुन्दरपुरतर्फ आउँदै गरेको यात्रुवाहक ईभी गाडी सडकबाट करिब ५०० मिटर तल भीरमा खसेर दुर्घटना भएको हो ।

मकवानपुरका प्रहरी प्रमुख एसपी श्यामबहादुर खत्रीका अनुसार, बिहीबार बिहान करिब ५ः४५ बजे मकवानपुरको भीमफेदी गाउँपालिका-६ स्थित चिसापानी गढीमा दुर्घटना भएको हो । दुर्घटनाको सूचना बिहान ५ः५५ बजे प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा खटिएको थियो । दुर्घटनामा म.प्र. ०३-००१ ज ०८८० नम्बरको यात्रुवाहक ईभी गाडी सडकबाट करिब ५०० मिटर तल भीरमा खसेको थियो । प्रारम्भिक विवरणअनुसार गाडीमा चालकसहित १४ देखि १५ जना सवार रहेको अनुमान गरिए पनि यात्रुको वास्तविक संख्या यकिन हुन नसकेको एसपी खत्रीले बताए ।

मकवानपुर प्रहरीका प्रवक्ता एवं सूचना अधिकारी डीएसपी माधवप्रसाद काफ्लेका अनुसार, हालसम्म १० जनाको शव निकालिएको छ । मृतकमध्ये पाँच महिला र पाँच पुरुष रहेका छन् । त्यस्तै, ६ जना पुरुष घाइते भएका छन् । घाइतेहरूलाई उद्धार गरी थप उपचारका लागि हेटौँडास्थित प्रादेशिक अस्पताल पठाइएको छ । दुर्घटनापछि उद्धार कार्यलाई तीव्रता दिइएको छ । इलाका प्रहरी कार्यालय भीमफेदी, सशस्त्र प्रहरी बल नेपाल, नेपाली सेना तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट थप सुरक्षाकर्मी परिचालन गरिएको डीएसपी काफ्लेले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एसपी खत्री स्वयं प्रहरी टोलीसहित घटनास्थलमा खटिएर उद्धार कार्यको नेतृत्व गरिरहेको उनले बताए ।
हेटौँडास्थित प्रादेशिक अस्पतालमा उपचाररत ६ जना घाइतेमध्ये तीन जनाको विवरण प्राप्त भएको छ । घाइतेमध्ये सर्लाहीको चक्रघट्टा गाउँपालिका-४ सुन्दरपुर निवासी करिब ३३ वर्षीय मुकेश यादवको टाउको र ढाडमा चोट लागेको छ । उनको अवस्था सामान्य रहेको छ । त्यस्तै, गुड्डु यादवका पाँच वर्षीय छोरा सक्षम कुमार यादवको शरीरमा भित्री चोट लागेको छ । उनको अवस्था पनि सामान्य रहेको छ । सोही स्थानका तीन वर्षीय सुदन यादवको टाउको र मुखमा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको डिएसपी काफ्लेले जानकारी दिए ।
सुन्दरपुरका स्थानीय युवा नेता विजय साह तेलीका अनुसार, दुर्घटनामा परेको ईभी गाडीमा सवार सबै यात्रु सर्लाहीको चक्रघट्टा गाउँपालिका-४ सुन्दरपुरकै एउटै टोलका बासिन्दा तथा यादव समुदायका रहेका छन् । छठ पर्व मनाउन बिहीबार काठमाडौँबाट आफ्नो गाउँ सुन्दरपुर फर्किंदै गर्दा उनीहरू दुर्घटनामा परेका हुन् । दुर्घटनाको खबर फैलिएसँगै सुन्दरपुर गाउँ शोकमा डुबेको छ । चक्रघट्टा गाउँपालिकाका अध्यक्ष कृष्णदेव यादव र वडा नम्बर ३ का वडा अध्यक्ष दिनेश साहलगायतको टोली घटनास्थलतर्फ बिहानै प्रस्थान गरिसकेको स्थानीय युवा नेता विजय साह तेलीले जानकारी दिए ।
घटनामा परी मृत्यु हुने तथा घाइते हुनेहरूको थप विवरण संकलन भइरहेको छ । गाडीमा सवार अन्य यात्रुको अवस्था पत्ता लगाउन उद्धार कार्य जारी रहेको डीएसपी काफ्लेले बताए । दुर्घटनाको कारण भने हालसम्म खुल्न सकेको छैन ।






