काठमाडौं । महाराजगंजस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको आयोजनामा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको प्रमुख आतिथ्यतामा अर्धवार्षिक समीक्षा तथा आगामी आर्थिक वर्षको तालिम क्यालेण्डर तर्जुमा सम्बन्धी विशेष गोष्ठी सम्पन्न भएको छ। “नेपाल प्रहरीको चालु आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक समीक्षा तथा आगामी आर्थिक वर्ष २०८३/०८४ को तालिम क्यालेण्डर तर्जुमा” विषयक उक्त कार्यक्रममा संगठनको आगामी शैक्षिक तथा प्रशिक्षण रणनीतिका बारेमा विस्तृत छलफल गरिएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले प्रस्तावित तालिम क्यालेण्डर वस्तुपरक ढंगले तयार पारिएकोमा सन्तोष व्यक्त गर्नुभयो। उहाँले तालिम आवश्यकता पहिचान (TNA) बाट प्राप्त तथ्याङ्कको विश्लेषण, संगठनको विद्यमान आवश्यकता, प्रहरी कर्मचारीको वृत्ति विकास र प्रशिक्षण केन्द्रहरूको भौतिक तथा मानवीय क्षमतालाई मध्यनजर गर्दै कार्यतालिका बनेको उल्लेख गर्नुभयो। अध्ययन र पर्याप्त छलफलपछि तयार पारिएको यो कार्यक्रमले संगठनको लक्ष्य हासिल गर्न सक्ने दक्ष र व्यावसायिक जनशक्ति उत्पादन गर्नेमा आफू विश्वस्त रहेको उहाँको भनाइ थियो। महानिरीक्षक कार्कीले वर्तमान समयमा देखा परेका विविध सुरक्षा चुनौतीहरूको सामना गर्न सक्ने गरी जनशक्ति विकास गर्न र तालिम कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनमा विशेष ध्यान दिन मातहतका निकायलाई निर्देशन समेत दिनुभयो।

सोही अवसरमा प्रतिष्ठानका कार्यकारी निर्देशक एवं प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सिद्धिविक्रम शाहले धन्यवाद मन्तव्य राख्दै प्रशिक्षण गतिविधिहरूलाई गुणस्तरीय बनाउने प्रतिबद्धता जनाउनुभयो। उहाँले देशभरका विभिन्न प्रशिक्षण केन्द्रहरूबाट सञ्चालन हुने समान प्रकृतिका तालिमहरूको प्रक्रिया र मापदण्डमा एकरूपता कायम गरिने बताउनुभयो। एआईजी शाहले एक प्रशिक्षण केन्द्रले अपनाएका सफल र असल अभ्यासहरूलाई अन्य केन्द्रहरूले पनि समन्वय गरी अनुशरण गर्नुपर्नेमा जोड दिनुभयो। प्रहरी महानिरीक्षकबाट प्राप्त निर्देशनहरूलाई पूर्ण रूपमा पालना गर्दै आगामी प्रशिक्षण सत्रहरूलाई थप प्रभावकारी र नतिजामुखी बनाउन सबै तालिम केन्द्रहरू सक्रिय रहने उहाँले विश्वास दिलाउनुभयो।






