काठमाडौं । ‘जेनजी’ आन्दोलनका क्रममा भएको दमनलाई लिएर पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्षबाट सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरिएको छ। उनीहरूलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै तत्काल थुनामुक्त गर्न माग गरी आइतबार छुट्टाछुट्टै रिट दर्ता भएका हुन्।
तत्कालीन प्रधानमन्त्री ओलीलाई थुनामुक्त गर्न माग गर्दै उनकी धर्मपत्नी राधिका शाक्यले रिट दायर गरेकी छन् भने पूर्वगृहमन्त्री लेखकको तर्फबाट पनि बन्दी प्रत्यक्षीकरणको रिट दर्ता भएको छ। सर्वोच्च अदालत प्रशासनका अनुसार यी दुवै रिटमाथिको प्रारम्भिक सुनुवाइ सोमबारका लागि तय गरिएको छ।

गत भदौ २३ र २४ गते भएको नागरिक आन्दोलन (जेनजी मुभमेन्ट) मा सरकारी पक्षबाट अत्यधिक बल प्रयोग र दमन भएको निष्कर्ष निकाल्दै जाँचबुझ आयोगले तत्कालीन सरकारका प्रमुख र गृहमन्त्रीलाई कारबाहीका लागि सिफारिस गरेको थियो। सोही प्रतिवेदनका आधारमा वर्तमान सरकारले शनिबार उनीहरूलाई नियन्त्रणमा लिएको थियो।
पक्राउ परेका दुवै नेतालाई आइतबार कानुनी प्रक्रियाका लागि अदालतमा उपस्थित गराइएको छ। नेता लेखकलाई भौतिक रूपमै काठमाडौं जिल्ला अदालत लगिएको थियो भने स्वास्थ्य समस्याका कारण अस्पतालमा रहेका पूर्वप्रधानमन्त्री ओलीलाई भर्चुअल माध्यमबाट अदालतसमक्ष प्रस्तुत गरिएको थियो। राजनीतिक वृत्तमा यस पक्राउले ठूलो हलचल पैदा गरेको छ भने कानुनी लडाइँ अब सर्वोच्चको इजलाससम्म पुगेको छ।






