राजविराज, २४ मंसिर – ७७ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा बुधबार सप्तरीको राजविराजमा बृहत र्‍याली प्रदर्शन गरिएको छ। राष्ट्रिय मानव अधिकार आयोग तथा मानव अधिकारका क्षेत्रमा सक्रिय विभिन्न संघ–संस्थाहरूले संयुक्त रूपमा र्‍याली आयोजना गरेका हुन्।

‘घरघरबाट सुरु गरौं, घरेलु हिंसा अन्त्य गरौं, मानव अधिकारको रक्षा गरौं, ७७ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस सफल पारौं’ भन्ने नारासहित सहभागीहरूले प्लेकार्ड बोकेर झाँकीसहित र्‍याली गरेका थिए।

शिव मन्दिरबाट सुरु भएको र्‍याली जिल्ला प्रशासन कार्यालय, खानेपानी कार्यालय, महावीर चौक, गजेन्द्र चौक, दशन चौक, राममन्दिर, अदालत रोड र नगरपालिका रोड हुँदै नेपाल पत्रकार महासंघको कार्यालयमा पुगेर समापन भएको थियो।

र्‍यालीमा जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिव नारायण साह, प्रमुख जिल्ला अधिकारी टुवराज पौडेल, राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधि, विभिन्न मानव अधिकार संस्थाका पदाधिकारी, पत्रकार, प्रहरी तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता थियो।

र्‍यालीपछि मधेस प्रदेशको मानव अधिकारको अवस्था र सरोकारवालाको भूमिकासम्बन्धी बृहत छलफल कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाहरूले जानकारी दिएका छन्।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर