राजविराज, २४ मंसिर । राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश प्रदेश सरकारले औपचारिक पहल सुरू गरेको छ।
मधेश प्रदेशका मुख्यमन्त्री कृष्णा यादव र अर्थमन्त्री महेश प्रसाद यादवले संघीय सरकारका अर्थमन्त्री रामेश्वर खनालसँग भेट गरी राजविराजमा राजस्व कार्यालय सञ्चालनको आवश्यकता राख्दै ध्यानाकर्षण गराएका हुन्।
करदाता सेवा कार्यालय खारेज गर्ने निर्णयबिरुद्ध उद्योगी–व्यापारी एक महिनादेखि आन्दोलनरत रहेको अवस्थामा प्रदेश सरकारको यो राजनीतिक पहललाई महत्वपूर्ण मानिएको छ।
मधेश प्रदेशका अर्थमन्त्री महेश प्रसाद यादवले अर्थमन्त्री खनालसँगको भेटमा राजविराजमा भइरहेको आन्दोलन र करदाता सेवा कार्यालय खारेजीका कारण उत्पन्न समस्या बारे विस्तृत जानकारी गराउँदै ज्ञापनपत्र समेत बुझाएका थिए। अर्थमन्त्री यादवका अनुसार, ज्ञापनपत्र बुझ्दै संघीय अर्थमन्त्री खनालले राजविराजस्थित करदाता सेवा कार्यालय हालका लागि यथावत राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
खुलासा दैनिकसँग अर्थमन्त्री यादवले भने, “अर्थमन्त्री खनालले करदाता सेवा कार्यालय तत्काल खारेज नहुने, र पछि सोही कार्यालयलाई स्तरोन्नति गरी आन्तरिक राजस्व कार्यालयमा परिणत गर्ने प्रतिबद्धता जनाउनुभएको छ।”
ज्ञापनपत्रमा राजविराजस्थित करदाता सेवा कार्यालय खारेज गर्ने निर्णय पुनर्विचार गर्न माग गर्दै “जनभावनाको सम्मान हुनेगरी कार्यालय पुनः सुचारु गरियोस्” भन्ने आग्रह गरिएको छ।
राजविराजस्थित करदाता सेवा कार्यालयको आफ्नै जग्गा, प्रशासकीय भवन, कर्मचारी आवाससहित पर्याप्त पूर्वाधार रहेको भए पनि गत कात्तिक १७ गते सरकारले देशभरका ३८ करदाता सेवा कार्यालय खारेज गर्ने निर्णय गर्दा यो कार्यालय पनि बन्द सूचीमा परेको थियो। सो निर्णयविरुद्ध सप्तरी उद्योग बाणिज्य संघको नेतृत्वमा तीन चरणसम्मको आन्दोलन सम्पन्न भइसकेको छ।
यस्तै, आन्तरिक राजस्व कार्यालय पुनःस्थापनाको माग गर्दै मंसिर २१ र २२ गते गठित संघर्ष समितिले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएको थियो। मंसिर २३ गते जिल्लाका कार्यालय तथा पालिकाहरू बन्द राखेर विरोध जनाइएको थियो।
सप्तरीमा हाल ७२ हजारभन्दा बढी करदाता छन्। राजविराजस्थित करदाता सेवा कार्यालयले गत आर्थिक वर्ष २०८१÷८२ मा ८७ करोड २७ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो। कार्यालयको उद्घाटन २०७५ भदौ १६ गते तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले गरेका थिए।
पछि कार्यालय आफ्नै भवनमा सरेको भए पनि २०७५ भदौ २५ गते जेनजी आन्दोलनका क्रममा आगजनी हुँदा भवन क्षतिग्रस्त बनेपछि कार्यालय हाल नजिकैको भाडाको भवनबाट सञ्चालन हुँदै आएको छ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर