काठमाडौँ । कप्तान अशोक धामीको शानदार प्रदर्शनमा नेपाली यू-१९ टोली एसीसी मेन्स यू-१९ प्रिमियर कपमा लगातार दोस्रो जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ।

बिहीबार समूह चरणको दोस्रो खेलमा नेपालले हङकङलाई ११९ रनको फराकिलो अन्तरले हराउँदै समूह ‘ए’को विजेताको रुपमा अन्तिम चारमा स्थान बनाएको हो। नेपालले पहिलो खेलमा साउदी अरबलाई आठ विकेटले पराजित गरेको थियो।

अब नेपाल सेमिफाइनलमा शनिबार मलेसियासँग भिड्नेछ। पहिलो सेमिफाइनलमा शनिबार युएई र ओमन एकअर्कासँग खेल्नेछन्।

नेपालले दिएको २७१ रनको लक्ष्य पछ्याउँदा हङकङ ४०.५ ओभरमा १५१ रनमा अलआउट भयो। हङकङलाई कम स्कोरमा रोक्न अरजित पौडेलले चार विकेट लिए। उनले ३१ रन खर्च्दै दुई मेडन ओभर फ्याँके।

कप्तान अशोक धामीले १० ओभरमा तीन विकेट लिएर दुई मेडन राख्दै २९ रन खर्चे। रोशन विश्वकर्मा, दयानन्द मण्डल र सुशिल रावलले एक–एक विकेट लिए। हङकङका कप्तान शिव माथुरले ३० रन बनाउँदै टिममा सबैभन्दा धेरै रन बनाए।

युएईको अजमानस्थित सेभेन डिस्ट्रिक्ट ग्राउन्ड–२ मा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सात विकेटको क्षतिमा २७० रन बनायो।

कप्तान अशोक धामीले ५१ बलमा तीन चौका र चार छक्का प्रहार गर्दै ७३ रन बनाए। दर्श सुनार ४५ रनमा अविजित रहे। दिलसान अलीले ३२, सिवरिन श्रेष्ठले २५, वंश क्षेत्रीले २४, निरजकुमार यादवले २२ र रोशन विश्वकर्माले २१ रन बनाए। निश्चल क्षेत्री तीन रनमा आउट भए।

हङकङका लागि अभिमन्यु गनेशन र डेनियल मापले दुई–दुई विकेट लिए भने प्रित मंगुकिया र अफ्ताव हुसैनले एक–एक विकेट लिए।

नेपालको यो जितले टिमको आत्मविश्वास अझ बलियो बनाएको छ र अब उनीहरुको लक्ष्य सेमिफाइनल जितेर फाइनलमा पुग्नु हुनेछ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर