सप्तरी, ११ मंसिर । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सचिव तथा पूर्वमन्त्री शैलेन्द्र प्रसाद साहले वर्तमान राजनीतिक परिस्थितिमा जसपाको भूमिका झनै महत्त्वपूर्ण बन्दै गएको बताएका छन्।
विहिवार एक वक्तव्य मार्फत पूर्व मन्त्री साहले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाललाई पछिल्लो समय संगठन कमजोर बनाउने चलखेल, विभाजन र बहिर्गमनजस्ता गतिविधिबाट प्रभावित हुँदै आएको बताएका छन।

साहका अनुसार राष्ट्रिय राजनीति पुनः केन्द्रीकरणतर्फ उन्मुख हुँदै जाँदा पहिचान–अधिकार, संघीयता, समावेशीकरण र संविधान संशोधन जस्ता मुद्दा कमजोर हुँदै गएकाले ती एजेन्डा उठाउन सक्षम वैकल्पिक संरचनाको आवश्यकता अझ बढेको छ। उनकाे उल्लेखमा, जसपाकै मूल नीति र एजेन्डाले यस्ता विषयहरू सुदृढरूपमा प्रस्तुत गर्न भूमिका खेल्न सक्छन्।

यसैबीच, पार्टीको हालै सम्पन्न बैठकले विगतमा असन्तुष्टि, निराशा वा अन्य कारणले पार्टीबाट टाढा रहेका नेता तथा कार्यकर्तालाई संगठनमा फर्किन खुला आह्वान गर्ने निर्णय गरेको छ। साहका अनुसार पार्टी एकताको प्राथमिकतासहित अघि बढ्ने यो कदम संगठन पुनर्जीवनको महत्त्वपूर्ण अवसर हो।

साहले अनुभवसंपन्न तथा जनमतमा प्रभाव राख्ने नेताहरू—महन्त ठाकुर, राजेन्द्र महतो, डा. बाबुराम भट्टराई, अशोक राई, जेपी गुप्ता, रेणु यादव, दान विश्वकर्मा, डम्बर खतिवडा, महेन्द्र यादव, युबराज कार्कीलगायत—पुनः एउटै धारमा उभिन सके जसपा फेरि बलियो र भरोसायोग्य वैकल्पिक शक्तिका रूपमा स्थापित हुन सक्ने धारणा व्यक्त गरे।

उनका अनुसार यी नेताहरूको राजनीतिक परिपक्वता र अनुभव एक ठाउँमा समेटिन सके पहिचान–अधिकारका एजेन्डालाई राष्ट्रिय बहसको केन्द्रमा ल्याउन, संघीयता र समावेशीकरण प्रभावकारी बनाउने तथा अस्थिर राजनीतिक परिवेशमा वैकल्पिक मार्गचित्र प्रस्तुत गर्न सकिनेछ। मधेशदेखि हिमालसम्मका नागरिकलाई एउटै राजनीतिक छातामुनि ल्याउन सक्ने क्षमता पनि जसपामा रहेको उनले दाबी गरे।

साहले पुनर्गठन र एकीकृत नेतृत्वले जसपालाई वैचारिक, समावेशी र राष्ट्रिय पार्टीका रूपमा पुनःस्थापित गर्न सक्ने विश्वास व्यक्त गरे। राजनीतिक अन्योल र जनअसन्तुष्टिको बीचमा यस्तो अवसर गुमाउनु देशको परिवर्तन यात्राका लागि प्रतिकूल हुने टिप्पणी गर्दै उनले भने,
“पुनः एकता, पुनः विश्वास र पुनः संगठन—यही सूत्रमा अघि बढे जसपा फेरि परिवर्तनको अग्रपंक्तिमा उभिन सक्छ।”

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर