डोल्पामा हिमपहिरो र चिसोका कारण बिरामी भएका प्रहरीको अवस्थाबारे अस्पतालमै पुगेर आईजीपी कार्कीको जानकारी
काठमाडौँ — अत्याधिक हिमपात र कठ्याङ्ग्रिदो चिसोका कारण बिरामी परेर उद्धार गरिएका प्रहरी कर्मचारीहरूको स्वास्थ्य अवस्थाबारे जानकार लिन प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की आईतवार नेपाल प्रहरी अस्पताल पुगेका छन्।

डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–१, मिजार गुम्बास्थित इलाईका प्रहरी चौकी (इ.प्र.का.) नाम्दोमा कार्यरत प्रहरीहरू २०८२ मंसिर २३ गते जिल्ला प्रहरी कार्यालय डोल्पातर्फ हिडेका थिए। तर बाटोमा परेको अत्याधिक हिमपातका कारण उनीहरूका खुट्टा सुन्निने, हिँडडुल गर्न नसक्ने अवस्था आएपछि जोखिम बढेको थियो।

स्थिति गम्भीर बन्दै गएपछि मंसिर २८ गते नेपाली सेनाको हेलिकोप्टरमार्फत डोल्पोबुद्ध–१, धो क्षेत्रबाट उनीहरूलाई उद्धार गरी काठमाडौँ ल्याइएको थियो। हाल नेपाल प्रहरी अस्पतालमा उनीहरूको उपचार जारी छ।
अस्पताल पुगेका आईजीपी कार्कीले बिरामी प्रहरीहरू, उनिहरूका परिवार तथा उपचारमा संलग्न चिकित्सकहरूसँग अवस्था बुझ्दै आवश्यक सबै सहयोग र उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिएका छन्।

प्रहरी मुख्यालयका अनुसार प्रभावित सबै प्रहरी कर्मचारीको स्वास्थ्यमा सुधार भइरहेको छ र थप उपचार प्रक्रियासमेत निरन्तर जारी रहनेछ।















