आधुनिक चीनसँग नेपालको सम्बन्धको सन्दर्भ आउनासाथ दुई पात्रको नाम सबैभन्दा अगाडि आउँछ, राजा महेन्द्र र प्रधानमन्त्री टंकप्रसाद आचार्य।
यसर्थ कि, राजा महेन्द्रको प्रत्यक्ष शासनकालमा १ अगस्ट १९५५ (१२ साउन २०१२) मा नेपाल–चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो।

जनवादी गणतन्त्र चीनको भ्रमण गर्ने पहिलो प्रधानमन्त्री भएकाले नेपाल–चीन सम्बन्धको सन्दर्भ उठ्नासाथ टंकप्रसाद आचार्यको नाम पनि अगाडि आइहाल्छ।
विसं २०१३ असोजमा भएको प्रधानमन्त्री आचार्यको चीन भ्रमणको पाँच वर्षपछि २०१८ असोजमा राजा महेन्द्रको चीन भ्रमण भएको थियो। प्रधानमन्त्री आचार्य र राजा महेन्द्रको भ्रमण पाँच वर्षको अन्तरालमा भए पनि त्यसक्रममा खिचिएका दुई तस्बिर सर्वाधिक चर्चित छन्।
राजा महेन्द्र र प्रधानमन्त्री आचार्यको साथमा रहेका शक्तिशाली नेता र एकै स्थानका कारण उनीहरूको चीन भ्रमणको तस्बिर चर्चित भएको हो।
प्रधानमन्त्री आचार्य जनवादी गणतन्त्रको चीन स्थापनाको सातौँ वार्षिकोत्सव (१ अक्टोबर १९५६, १६ असोज २०१३) मा आयोजित तियानमेन स्क्वायरको सैन्य परेड अवलोकनमा सहभागी भएका थिए।
त्यसक्रममा खिचिएको तस्बिरमा प्रधानमन्त्री आचार्य चीनका तत्कालीन राष्ट्रपति माओ त्सेतुङ, इन्डोनेसियाका राष्ट्रपति सुकार्नो लगायतका नेताहरूका साथ सैन्य परेड अवलोकन गरिरहेका देखिन्छन्।
तियानमेन स्क्वायरमा सुकार्नो, माओ र टंकप्रसाद आचार्य दायाँबाट क्रमशःमाओ र सुकार्नोका साथ प्रधानमन्त्री आचार्य रहेको त्यो बार्दली त्यही भवनको हो, जहाँबाट चिनियाँ नेता माओ त्सेतुङले कोमिन्ताङमाथि विजय हासिल गरेपछि १ अक्टोaर १९४९ (१५ असोज २००६) मा जनवादी गणतन्त्र चीनको घोषणा गरेका थिए।
उता माओले तियानमेन स्क्वायरबाट जनवादी गणतन्त्र चीनको घोषणा गर्दै गर्दा यता टंकप्रसाद आचार्य भने राणाहरूको कालकोठरीमा थिए।
तर, जनवादी गणतन्त्र घोषणाको अर्को वर्ष नेपालमा राणा शासनको अन्त्य भयो। कठोर प्रकृतिको आजीवन कारावासको सजाय भोगिरहेका टंकप्रसाद आचार्य राणा शासन पतनको ७ वर्ष पुग्दानपुग्दै प्रधानमन्त्री बने। र, जनवादी गणतन्त्र घोषणाको ७ औँ वार्षिकोत्सव मनाउन तत्कालीन चिनियाँ राष्ट्रपति माओ र इन्डोनेसियाली राष्ट्रपति सुकार्नोसँगै लामबद्ध भएर जनवादी गणतन्त्र चीनको घोषणा भएको उपलक्ष्यमा तियानमेन स्क्वायरमा आयोजित समारोहमा सहभागी भए।
पाँच वर्षपछि त्यस्तै अवसर राजा महेन्द्रलाई प्राप्त भयो। जनवादी गणतन्त्र चीन स्थापना भएको १२ औँ वार्षिकोत्सवमा सहभागी हुनेगरी चीनले राजा महेन्द्रलाई निमन्त्रणा दियो।
चिनियाँ नेता माओलगायत विश्वका अन्य पाहुनाहरूसँगै तियानमेन स्क्वायरस्थित हाल ‘ग्रेट हल अफ द पिपुल’ अगाडि रहेको त्यही ऐतिहासिक भवनको बार्दलीबाट उनले जनवादी गणतन्त्र चीन स्थापनाको १२ औँ वार्षिकोत्सव समारोह अवलोकन गरे।
तियानमेन स्क्वायरमा राजा महेन्द्र र माओराजा महेन्द्र र प्रधानमन्त्री आचार्यजस्तै त्यही ऐतिहासिक भवनको बार्दलीमा चिनियाँ राष्ट्रपति सी चिनफिङ लगायत एक से एक चिनियाँ नेताहरूसँग उभिएर तियानमेन स्क्वायरमा आगामी हप्ता हुने विशाल सैन्य परेडको अवलोकन गर्ने दुर्लभ अवसर प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि प्राप्त हुने भएको छ।
चिनियाँ महानगर तियान्जिनमा १५–१६ भदौमा हुने सांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा ‘दुर्लभ सहभागिता’पछि प्रधानमन्त्री ओलीलाई बेइजिङमा समेत यो दुर्लभ अवसर प्राप्त हुन लागेको हो।
सांघाई सहयोग संगठन (एससीओ) मा सहभागिता पनि प्रधानमन्त्री ओलीले प्राप्त गरेको दुर्लभ अवसर हो। किनकि, नेपाल डायलग पार्टनर मात्र रहे पनि त्यसमा प्रधानमन्त्री ओलीसमेत सहभागी हुँदैछन्।
यसअघि एससीओ शिखर सम्मेलनमा अब्जर्भर र डायलग पार्टनर मुलुकका राष्ट्राध्यक्ष वा सरकार प्रमुखलाई निमन्त्रणा दिइँदैनथ्यो।
यसपटक ‘एससीओ’ शिखर सम्मेलनको आयोजक रहेको चीनले सम्मेलनलाई बृहत् स्वरूप दिने योजना बनाएका कारण चीनले सदस्य बाहेक ‘अब्जर्भर’ र ‘डायलग पार्टनर’ मुलुकका राष्ट्राध्यक्ष र सरकार प्रमुखलाई पनि निम्त्याएको हो।
‘एससीओ’ शिखर सम्मेलनमा प्राप्त हुने यो दुर्लभ सहभागितापछि ३ सेप्टेम्बर (१८ भदौ) मा तियानमेन स्क्वायरमा आयोजना हुने विशाल सैन्य परेडसहितको समारोहमा प्रधानमन्त्री ओली सहभागी हुनेछन्।
विशाल सैन्य परेडसहितको सो समारोह चीनले ‘जापानी आक्रमणविरुद्धको चिनियाँ जनताको प्रतिरोध युद्ध तथा विश्व फासिवादविरोधी युद्धमा विजयको ८०औँ वार्षिकोत्सव’ को अवसरमा आयोजना गर्न लागेको हो।
विशेष अवसरमा तियानमेन स्क्वायरमा आयोजना हुने यस्ता विशाल सैन्य परेडमा सहभागिताका अलावा त्यहाँ उपस्थित हुने अन्य विश्व नेताका कारण पनि यो ओलीका लागि दुर्लभ अवसर हुनेछ।
माओ र सुकार्नोसँग देखिएजस्तै प्रधानमन्त्री ओली पनि सी चिनफिङका अलावा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उन लगायतका विश्वस्तरका २६ नेताहरूका साथ देखिनेछन्।
सो सैन्य परेडमा सहभागी हुने विश्वका २६ शीर्ष नेताको नाम छिमेकी चीनले बिहीबार सार्वजनिक गरेको छ, जसमा रुसी राष्ट्रपति पुटिन र उत्तर कोरियाली नेता किम जोङ–उनको नाम पनि समावेश छ। किम जोङ–उन कोरियन वर्कर्स पार्टीका महासचिवसमेत छन्।
सो समारोहका लागि चीनले पुटिन र किम जोङ–उनका अलावा कम्बोडियाका राजा नोरोद्दम सिहामोनी, भियतनामका राष्ट्रपति लुओङ कुआङ, लाओसका राष्ट्रपति थोङलुन सिसौलिथ, इन्डोनेसियाका राष्ट्रपति प्राबोवो सुबिआन्तोलाई पनि निमन्त्रणा दिएको छ।
यसैगरी मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिम, मङ्गोलियाका राष्ट्रपति उख्ना खुरेल्सुख, पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफ, नेपालका प्रधानमन्त्री केपी शर्मा ओली, माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले पनि निमन्त्रणा पाएका छन्।
निमन्त्रणा प्राप्त गर्ने अन्य नेताहरूमा कजाखस्तानका राष्ट्रपति कासिम–जोमार्ट टोकायेभ, उज्बेकिस्तानका राष्ट्रपति शौकत मिर्जियोयेभ, ताजिकिस्तानका राष्ट्रपति इमोमाली रहमान, किर्गिस्तानका राष्ट्रपति सादिर जापारोभ, तुर्कमेनिस्तानका राष्ट्रपति सेर्दार बेर्दिमुहामेदोभ पनि छन्।
बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्को, अजरबैजानका राष्ट्रपति इल्हाम अलियेभ, आर्मेनियाका प्रधानमन्त्री निकोल पसिन्यान, इरानका राष्ट्रपति मसुद पेजेस्कियन, कङ्गो गणतन्त्रका राष्ट्रपति डेनिस सास्सु न्गुएसो, जिम्बाब्वेका राष्ट्रपति इमर्सन मनाङगाग्वा पनि त्यहाँ सहभागी हुनेछन्।
सर्बियाका राष्ट्रपति अलेक्जान्दर भुचिच, स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिको, क्युबाका राष्ट्रपति मिगुएल दिआस–कानेल, र म्यानमारका कार्यवाहक राष्ट्रपति मिन आङ ह्लाइङ पनि सो सैन्य परेडका लागि निमन्त्रणा प्राप्त गर्ने अतिथिको सूचीमा छन्।
तियानमेन स्क्वायरमा आयोजना हुने विशाल सैन्य परेडसहितको समारोहमा सहभागी हुने शीर्ष नेतामध्ये ओली लगायत कतिपय तियान्जिनमा आयोजित एससीओ शिखर सम्मेलनमा पनि सहभागी हुनेछन्। ‘एससीओ’मा सहभागी राष्ट्रका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखमध्ये अधिकांश तियान्जिनबाट बेइजिङ पुग्नेछन् र सो सैन्य परेडको अवलोकन गर्नेछन्।
तर, ‘एससीओ’ शिखर सम्मेलनमा सहभागी भए पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तियानमेन स्क्वायरको विशाल सैन्य परेडसहितको सहभागी हुने छैनन्। तियान्जिनबाटै उनी नयाँदिल्ली फर्कनेछन्।
खासमा तियानमेन स्क्वायरमा आयोजना हुने सैन्य परेड आफूलाई उपनिवेश बनाएको जापानविरुद्ध चीनले ८० वर्षअघि प्राप्त गरेको विजयको उपलक्ष्यमा आयोजना गरिएको हो।
मोदी भने जापानको दुई दिने भ्रमणपछि ‘एससीओ’ शिखर सम्मेलनमा सहभागी हुन पुग्नेछन्। भारत–जापान १५ औँ शिखर सम्मेलनका लागि प्रधानमन्त्री मोदी बिहीबार (१२ भदौ) जापानतर्फ लागेका छन्। भारत–जापान शिखर सम्मेलनमा सहभागी भएर मोदी शनिबार तियान्जिन पुग्नेछन्।






