न्यूयोर्क । गीतकार, अनुसन्धानकर्ता, सञ्चारकर्मी, लेखक तथा युवा अभियानकर्मी प्रकाशबाबु थापा अमेरिकाको न्यूयोर्कमा विशेष सम्मानबाट सम्मानित भएका छन्।

न्यूयोर्क राज्यको एसेम्ब्ली डिस्ट्रिक्ट–३० का सदस्य माननीय स्टेभन रागाले थापाले विभिन्न क्षेत्रमा पुर्‍याउँदै आएको योगदानको उच्च कदर गर्दै सन् २०२६ नोभेम्बर २३ मा Social Activist and Cultural Ambassador (सामाजिक अभियन्ता तथा सांस्कृतिक दूत) को रूपमा विशेष सम्मानपत्र (Citation) प्रदान गरेका हुन्।

लामो समयदेखि नेपाली कला, साहित्य, सञ्चार, अनुसन्धान तथा सामाजिक अभियानमा सक्रिय थापा बहुआयामिक व्यक्तित्वका रूपमा परिचित छन्। उनले नेपाल टेलिभिजन तथा न्यूज २४ टेलिभिजनमा कार्यक्रम प्रस्तोताका रूपमा काम गर्दै नेपाली सञ्चार क्षेत्रमा आफ्नो पहिचान स्थापित गरेका थिए। नेपाली गीतसङ्गीतको क्षेत्रमा गीतकारका रूपमा समेत उनको योगदान रहेको छ। सञ्चार, साहित्य तथा सामाजिक विषयवस्तुमा लेखन र अभिव्यक्तिमार्फत पनि उनी सक्रिय रहँदै आएका छन्। हाल उनी समाजशास्त्रीय अध्ययन, अनुसन्धान तथा शैक्षिक गतिविधिमा समेत संलग्न छन्। विशेषगरी युवा सशक्तीकरण, नेतृत्व विकास, सामाजिक जागरण, सकारात्मक सोचको प्रवर्द्धन तथा सामुदायिक अभियानमा उनी निरन्तर क्रियाशील रहँदै आएका छन्।

हाल थापा Universal Peace Federation (UPF) International अन्तर्गत दक्षिण एसिया क्षेत्रीय निर्देशक (Regional Director, South Asia) का रूपमा कार्यरत छन्। यस जिम्मेवारीमार्फत उनले दक्षिण एसियाली क्षेत्रमा युवा नेतृत्व विकास, सामाजिक सद्भाव, अन्तर्राष्ट्रिय सहकार्य तथा विश्वशान्तिको प्रवर्द्धनका लागि विभिन्न गतिविधि, कार्यक्रम र अभियानको नेतृत्व तथा समन्वय गर्दै आएका छन्।

थापाको अमेरिकासँगको सम्बन्ध र अनुभव पनि लामो छ। सन् २००६ देखि २००८ को अन्त्यसम्म संयुक्त राज्य अमेरिकामा रहेर उनले अन्तर्राष्ट्रिय नेतृत्व विकास कार्यक्रमअन्तर्गत स्वयंसेवकका रूपमा सेवा गरेका थिए। यस क्रममा अमेरिकाका करिब ४५ वटा राज्यमा पुगेर विभिन्न सामाजिक तथा सामुदायिक सेवाका गतिविधिमा सहभागी भएका थिए। स्वयंसेवा र सामाजिक योगदानको कदरस्वरूप तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाबाट समेत उनी सम्मानित भएका थिए।

करिब १६ वर्षपछि व्यक्तिगत भ्रमणका क्रममा पुनः न्यूयोर्क पुगेका थापाको न्यूयोर्क राज्यका एसेम्ब्ली सदस्य माननीय स्टेभन रागासँग आत्मीय तथा सौहार्दपूर्ण भेटघाट भएको थियो। सोही अवसरमा रागाको कार्यालयले थापाको विगतदेखिको सामाजिक सक्रियता, अन्तर्राष्ट्रिय स्वयंसेवा अनुभव तथा कला, संस्कृति र सामुदायिक क्षेत्रमा पुर्‍याएको योगदानको कदरस्वरूप उक्त विशेष सम्मानपत्र प्रदान गरेको हो।

यस सम्मानलाई नेपाली कला, संस्कृति, सञ्चार, साहित्य, अनुसन्धान तथा सामाजिक अभियानमा सक्रिय व्यक्तित्वको योगदानको अन्तर्राष्ट्रिय पहिचानका रूपमा समेत हेरिएको छ। साथै, यसले नेपाली समुदायको सामाजिक तथा सांस्कृतिक योगदानलाई अमेरिकी समुदाय र नेतृत्वसमक्ष थप परिचित गराउन सहयोग पुग्ने विश्वास गरिएको छ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर