एसपी यादव/सर्लाही, मंसिर ९ गते । सञ्चारमाध्यममाथिको सरकारी हस्तक्षेप र पत्रकारमाथिको धरपकड रोक्न तथा लोककल्याणकारी विज्ञापनमा लगाइएको अंकुश हटाउन माग गर्दै नेपाल पत्रकार महासंघ सर्लाही शाखाले विरोध प्रदर्शन गरेको छ ।


प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र महासंघले अघि सारेका माग सम्बोधन गर्न सरकारलाई दबाब दिने उद्देश्यले बुधबार पत्रकारहरूले सदरमुकाम मलंगवामा प्रदर्शन गरेका हुन् ।

मलंगवास्थित महासंघ सर्लाही शाखाको कार्यालयबाट ब्यानरसहित नाराबाजी गर्दै निस्किएका पत्रकारहरू जिल्ला प्रशासन कार्यालय मलंगवा सर्लाहीको मूलगेटमा पुगेर केही समय धर्नामा बसेका थिए । उनीहरूले प्रेस स्वतन्त्रताको रक्षा गर्न, पत्रकारमाथिको धरपकड रोक्न र महासंघका माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गर्दै नाराबाजी गरेका थिए ।

महासंघले सार्वजनिक गरेको ब्यानरमा ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर, नेपाल पत्रकार महासंघको माग पूरा गर’ भन्ने नारासँगै ‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ भन्ने व्यङ्ग्यात्मक सन्देशसमेत उल्लेख गरिएको थियो ।

नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष ओमप्रकाश ठाकुरले सरकारले सञ्चारमाध्यममाथि गरेको धरपकड तथा हस्तक्षेप रोक्न र लोककल्याणकारी विज्ञापन वितरणमा लगाइएको अंकुश तत्काल हटाउन माग गरेका छन् ।

उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारभूत अधिकार भएको उल्लेख गर्दै सञ्चारमाध्यमलाई नियन्त्रण गर्ने र पत्रकारलाई त्रसित बनाउने गतिविधि अन्त्य गर्न सरकार गम्भीर हुनुपर्ने धारणा राखेका छन् ।

लोककल्याणकारी विज्ञापन सञ्चारमाध्यमको आर्थिक स्थायित्वसँग जोडिएको विषय भएकाले यसको वितरणमा विभेद र अवरोध नगरी निष्पक्ष, पारदर्शी तथा समानुपातिक व्यवस्था लागू गर्नुपर्ने अध्यक्ष ठाकुरको माग छ ।

महासंघले प्रेस स्वतन्त्रताको संरक्षण, पत्रकारको पेशागत सुरक्षा र सञ्चारमाध्यमको स्वतन्त्र सञ्चालनलाई लोकतन्त्रको अनिवार्य सर्तका रूपमा लिएको छ । नागरिकको सूचनाको हक सुनिश्चित गर्ने, सार्वजनिक निकायलाई जवाफदेही बनाउने तथा लोकतान्त्रिक मूल्य र मान्यताको संरक्षण गर्न स्वतन्त्र पत्रकारिताको वातावरण आवश्यक रहेको महासंघको जोड छ ।

नेपाल पत्रकार महासंघ केन्द्रीय समिति, सञ्चारग्राम, काठमाडौंका केन्द्रीय महासचिव रामप्रसाद दाहालद्वारा मंसिर १ गते जारी गरिएको प्रेस विज्ञप्तिअनुसार, पूर्वनिर्धारित कार्यक्रमअन्तर्गत सर्लाही शाखाले बुधबार उक्त विरोध कार्यक्रम आयोजना गरेको हो ।

एसपी यादव

लेखकको बारेमा

एसपी यादव

लेखकबाट थप

पत्रकार यादव राजनीतिक, खोज अनुसन्धान र समसामयिक लगायत विषयमा रिपोर्टिङ गर्छन् ।


प्रतिक्रिया!!

सम्बन्धित खबर