पर्सा । पर्सामा समुदायस्तरमै हैजा फैलिएको चिकित्सकहरुले बताएका छन्। एक सातायता फैलिएको हैजा अझै नियन्त्रणमा आउन सकेको छैन।
स्वास्थ्य मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार वीरगन्ज महानगरपालिकामा ६२४ जना बिरामी परेका छन्। त्यस्तै पोखरियामा १२ जना बिरामी छन्।

पछिल्लो २४ घण्टामा ८८ जना बिरामी थपिएका छन्। महाशाखाका अनुसार ४ वर्षमुनिका २४ जना बालबालिका र ३ जना गर्भवती महिलामा समेत हैजा देखिएको छ।
हैजा संक्रमणले वीरगन्ज महानगरपालिका अस्तव्यस्त बनेको छ। लगातार पातलो दिसा हुने, बान्ता आउने, पेट दुख्ने, मिर्गौलामा समस्या देखिने र अर्धचेत हुने समस्या लिएर दैनिक ५० जना बिरामी नारायणी अस्पताल पुग्ने गरेका छन्।
हैजा संक्रमणका कारण नारायणी अस्पताल बिरामीले भरिभराउ भएको छ। हालसम्म २७१ जनाको उपचार गरिरहेको अस्पतालले शय्या भरिएपछि भुइँमा राखेर उपचार गरिरहेको छ।
अस्पतालका निर्देशक डा चुमनलाल दास हैजा र झाडापखाला लागेका बिरामीको उपचारका लागि छुट्याइएका शय्या भरिएको जानकारी दिए।
‘अस्पतालले हैजाका बिरामीको उपचार गर्न ३४ शय्या छुटएको छ। तर, दिनहुँ ५० जना बिरामी आउन थालेपछि शय्या भरिन थाले र बाध्य भएर भुइँमा नै राखेर उपचार गर्दै छौँ,’ उनले भने।
डा दासले अस्पतालमा भर्ना भएकामध्ये २०९ जना निको भएर फर्किसकेको र हाल ६२ जनाको उपचार भइरहेको जनाए।
‘भर्ना भएकामध्ये ६ जनाको आईसीयू कक्षमा छन्,’ उनले भने।
अस्पतालले लक्षण लिएका आएका सबैको भर्ना गरेर उपचार गरेको छ। भर्ना भएका १२ जनाको दिसाको ‘कल्चर’मा हैजाको जीवाणु भेटिएपछि अस्पताल आउने सबै बिरामीलाई भर्ना गरेर उपचार गरेको डा दास बताउँछन्।

हैजा संक्रमणको कारण पत्ता लाग्न सकेको छैन। हैजा नियन्त्रण गर्न वीरगन्ज महानगरले भदौ १३ गते सम्म विद्यालय बन्द गरेको छ।
महाशाखाका प्रमुख डा चन्द्र भाल झाले वीरगन्जमा हैजा समुदाय स्तरमा फैलिएको जनाएका छन्।
‘हैजा समुदाय स्तरमा फैलिसकेको छ, कसरी फैलिरहेको भनेर खोजी गर्दै छौँ,’ उनले भने ‘एकै पटक धेरै जनामा देखिएकाले पानीको माध्यमबाट फैलिएको हुन सक्ने आकलन गरेका छौँ। हैजाका लक्षण र कसरी फैलिन्छ भन्नेबारे जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेका छौँ, बिरामीको पहिचान गर्दै परीक्षण र उपचारलाई बढाइरहेका छौँ।’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हैजा फैलाउने स्रोत पहिचान गर्न तीनवटा पानीका स्रोतबाट नमूनाहरू संकलन गरी प्रयोगशालामा हैजा जीवाणु परीक्षणका लागि पठाइएको जनाएको छ।
मन्त्रालयले गर्मी तथा वर्षायाममा विशेष गरी झाडापखाला, हैजा तथा अन्य पानीजन्य रोगहरू फैलिने भएकाले सतर्क रहन आग्रह गरेको छ।
सार्वजनिक सूचना जारी गर्दै मन्त्रालयले सरुवा रोगहरुबाट सुरक्षित रहन पिउने पानी उमालेर वा क्लोरिन प्रयोग गरी मात्र प्रयोग गर्ने, व्यक्तिगत तथा खानेकुराको सरसफाइमा विशेष ध्यान दिने, खुला स्थानमा दिसा नगर्न, चर्पीको अनिवार्य प्रयोग गर्न र दिसापिसाब गरिसकेपछि र खाना खानुभन्दा अगाडि साबुन पानीले अनिवार्य हात धुन आग्रह गरेको छ।

नेपालमा हैजा कहिले देखियो?
करिब २०० वर्ष पहिले नै पत्ता लागेको हैजा एक पुरानो संक्रामक रोग हो। हैजाको पहिलो ठूलो महामारी सन् १८१७ मा दक्षिण एसियाबाट (विशेष गरी भारतको बंगाल क्षेत्रबाट) सुरु भएको मानिन्छ।
सन् १८२० सम्म आइपुग्दा हैजा थाइल्यान्ड, इन्डोनेसिया र फिलिपिन्ससम्म फैलिएको थियो। इन्डोनेसियाको जाभा टापुमा मात्र हैजाका कारण एक लाख मानिसको मृत्यु भएको थियो। थाइल्यान्ड र इन्डोनेसिया हुँदै हैजा १८२० मा चीन र १८२२ मा जापानमा पनि फैलिएको थियो।
त्यतिबेलासम्म हैजा एसियामा मात्र फैलिएको थियो। सन् १८२१ मा बेलायती सेना भारतबाट ओमानतर्फ जाँदै गएका सेनाबाट यो महामारी पर्सियन खाडी क्षेत्रमा फैलिएको थियो। त्यहीँबाट यो रोग अहिलेको टर्की, सिरिया र दक्षिणी रुसमा फैलिएको थियो।
विश्वमा देखिएको १८९ वर्षपछि नेपालमा सन् २००९ मा हैजाले महामारीको रुप लिएको थियो। त्यसबेला जाजरकोट जिल्लामा करिब ३० हजार जनामा हैजा देखिएको थियो। हैजा लागेका मध्ये ५०० जनाले ज्यान गुमाएका थिए। सन् २०१४ मा रौतहट ६०० जनाभन्दा बढीमा हैजा संक्रमण देखिएको थियो। पछिल्लो पटक कपिलवस्तुको कृष्णनगरमा फैलिएको थियो। हैजा संक्रमण नियन्त्रण ल्याउन सरकारले खोप अभियान नै चलाएको थियो।

कसरी सर्छ हैजा?
शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सरुवारोग विशेषज्ञ डा शेरबहादुर पुनका अनुसार हैजा ‘भिब्रियो कोलेरा’ नामक जीवाणुका कारण लाग्ने सरुवा रोग हो।
‘हैजा पानीजन्य एक संक्रामक पखाला गराउने रोग हो। जसलाई चिकित्सकीय भाषामा ‘कोलेरा’ भनिन्छ। वर्षा र गर्मीयाममा ‘भिब्रियो कोलेरा’ नामको जीवाणु सक्रिय हुन्छ,’ उनी भन्छन्, ‘ती जीवाणु दूषित पानी र खानेकुरालाई माध्यम बनाई मानिसमा सर्ने गर्छ।’
डा पुनका अनुसार हैजा दुषित पानी र खानाबाट सर्ने हैजाको समयमा नै उपचार नभए बिरामीको मृत्यु हुने गर्छ।
‘निरन्तर चौलानी जस्तो पातलो दिसा लाग्ने, बान्ता आउने जस्ता लक्षण देखिने गरेको छ,’ डा पुनले भने, ‘पातलो दिसा नरोकिएको खण्डमा शरीरबाट अत्यधिक मात्रामा तरल पदार्थ निख्रिएर बेहोस हुने अवस्था ‘हाइपो भोल्युमिक’ भई बिरामीको मृत्यु हुने गरेको छ। शरीरमा रहेको नुन र पानी जस्ता तरल पदार्थ दिसा तथा बान्ताको माध्यमबाट बाहिरिएर शरीरमा पानीको मात्रा घटेपछि मुटुले सक्रिय रूपमा रगत पम्प गर्न सक्दैन। मुटुले रगत पम्प गर्न नसक्दा कोषहरूमा रक्तसञ्चार हुन पाउँदैन।’
डा पुनका अनुसार शरीरमा रगत नपुग्दा अक्सिजन र पोषणको कमी हुन्छ र शरीरलाई चलायमान राख्ने प्रमुख अंगले काम गर्न नसकेका पर्याप्त मात्रामा टाउकोमा रगत नपुग्दा मस्तिष्कको तन्तुहरु मर्ने, मिर्गौलामा असर भई बिरामीको मृत्यु समेत हुनसक्छ।
हैजा लागेका बिरामीको तुरुन्त उपचार हुन सक्यो भने पूर्ण रुपमा निको हुने उनको भनाइ छ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार विश्वभर प्रत्येक वर्ष १३ लाखदेखि ४० लाख मानिसमा हैजा संक्रमण देखिने गरेको छ। जसमध्ये २१ हजारदेखि १ लाख ४३ हजार मानिसको मृत्यु हुने गरेको छ। नेपालमा करिब २० प्रतिशत मानिस हैजा संक्रमणको जोखिममा रहेको अनुमान गरिएको छ।






